काठमाडौँ । नबिल बैंक लिमिटेडले २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण बैंकको इम्पेरमेन्ट चार्ज १६ करोड ४० लाख रुपैयाँमा सीमित हुँदा खुद नाफामा वृद्धि भएको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको इम्पेरमेन्ट चार्ज ६४ करोड ७२ लाख रुपैयाँ रहेका थियो ।
यता, बैंकको खुद ब्याज आम्दानी गत वर्षको ३ अर्ब ९० करोड रुपैयाँबाट बढेर ४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिसन आम्दानी पनि ७९ करोड ८७ लाख रुपैयाँबाट बढेर ९१ करोड ९४ लाख रुपैयाँ पुगेको छ । यसले बैंकको मुख्य व्यावसायिक आम्दानी सबल रहेको स्पष्ट पार्छ ।
बैंकको कुल वितरणयोग्य मुनाफा २ अर्ब २६ करोड रुपैयाँ रहेको छ । बैंकको वित्तीय परिसूचकहरूमा पनि सकारात्मक सुधार देखिएको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी बढेर ३३ रुपैयाँ ८९ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ ३९ पैसा कायम भएको छ । बैंकको कुल निक्षेप संकलन ६१९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ भने कुल कर्जा प्रवाह ४७६ अर्ब १ करोड रुपैयाँ रहेको छ ।






