बाँकेको अम्बे स्टिलमा आगलागी हुँदा ८ जना घाइते


बाँके । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल उद्योगमा विद्युत् भट्टी विस्फोट हुँदा ८ जना कामदार घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि भारतको लखनउ लगिएको छ ।

उद्योगभित्र फलाम पगाल्न प्रयोग गरिने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट भएपछि अचानक आगलागी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतबार बिहान पौने ६ बजेतिर उद्योगमा भट्टी विस्फोट भई आगलागी भएको थियो । यसअघि पनि केही दिनअघि सोही उद्योगको केमिकल ट्याङ्कीमा आगलागी भएको थियो । घाइते हुनेमा बाँकेका पाँच जना र भारतको बहराइच जिल्लाका तीन जना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार उद्योगमा रहेका भट्टीमा आगलागी भई विस्फोट भएको हो । ती भट्टीको क्षमता प्रतिवटा २५ टन रहेको छ ।

प्रहरीका अनुसार घाइते हुनेमा बाँकेको जानकी गाउँपालिका–५ का २८ वर्षीय शिवप्रसाद चमार, २२ वर्षीय रामदिन हरिजन, २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव र ३५ वर्षीय लक्ष्मीराम यादव रहेका छन् । त्यसैगरी, भारतको बहराइच जिल्लाका राजकुमार निषाद, नशिव कुमार निषाद र विनोद कुमार निषाद पनि घाइते भएका छन् ।

गम्भीर घाइते शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि भारतको लखनउ लगिएको छ । अन्य घाइतेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाका दुईवटा र कोहलपुर नगरपालिकाको एउटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान साढे ८ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । आगलागीबाट भएको अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५ कार्तिक २०८३, आइतबार  ११ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।