झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकरभिट्टा–लौकही सडकको निर्माणमा देखिएको समस्या समाधानका लागि स्थानीय प्रशासनले पहल थालेको छ ।
स्थानीयको माग, निर्माण सामग्रीको अभाव र विद्युत् पोल व्यवस्थापनमा देखिएको समस्याले अवरोध सृजना भएपछि जिल्ला प्रशासन कार्यालय झापाले समाधानका लागि तत्परता देखाएको हो ।
सडक निर्माणमा देखिएका समस्या पहिचान गरी समाधानको बाटो खोज्न प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले शनिबार आयोजनाका प्रतिनिधिसहित निर्माणाधीन सडकखण्डको स्थलगत निरीक्षण गरेका थिए ।
निर्माण कम्पनी इभ्रास्कन–कालिका जेभीका क्षेत्रीय महाप्रबन्धक उज्ज्वल प्रसाईँका अनुसार स्थानीयको माग र निर्माण सामग्री उपलब्धतामा देखिएको समस्याले सडक निर्माण प्रभावित भइरहेको छ । सुरुआती डिजाइनमा परिवर्तन गरी सडकलाई व्यवस्थित र यात्रुमैत्री बनाउन जनप्रतिनिधि, राजनीतिक दल तथा स्थानीयवासीले माग गरेपछि कतिपय स्थानमा काम रोकिएको उनले बताए।
“एकातिर सरकारले समयमै काम सक्न भन्छ, अर्कातिर यहाँ विभिन्न अवरोध छन् । भनेको समयमा निर्माण सामग्री उपलब्ध हुँदैन”, प्रसाईँले भने, “ओभरपास निर्माणका लागि फिलिङ गर्न आवश्यक माटो उपलब्ध भएको छैन । तीन लाख घनमिटर माटोका लागि आवश्यक राजस्व बुझाइसक्दा पनि स्थानीय तहबाट प्रक्रिया अघि नबढ्दा काम प्रभावित भएको छ ।”






