तिहार नजिकिएसँगै भाई मसलाको आयात बढ्यो, तीन महिनामा ३ अर्ब बढीको आयात


काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै जाँदा बजारमा भाइटीकाका लागि आवश्यक पर्ने मसलाजन्य वस्तुको किनमेल बढेको छ ।

दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर दीर्घायु र सुखसमृद्धिको कामना गर्ने भाइटीकामा ओखर, काजु, बदाम, किसमिस, नरिवल, छोकडा, सुपारीलगायत मसलाजन्य वस्तुको विशेष महत्व हुन्छ । तर, भाइटीकामा प्रयोग हुने यस्ता अधिकांश सामग्रीका लागि विदेशकै भरमा पर्नुपरेको भन्सार विभागको तथ्यांकले प्रष्ट पारेको छ ।

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो ३ महिना (साउन–असोज) मा मात्रै विभिन्न ड्राइफ्रुट्स ३ अर्ब बढीको आयात भएको छ । यसले तिहारजस्तो नेपाली मौलिक चाडपर्वमा समेत स्वदेशी उत्पादनभन्दा विदेशी वस्तुको उपभोग बढी भइरहेको देखाउँछ ।

साउनदेखि असोज मसान्तसम्म मुलुकमा ३ अर्ब १ करोड ७० लाख ७४ हजार रुपैयाँ बराबरका १ करोड ७१ लाख ५७ हजार किलोग्राम विभिन्न प्रकारका ड्राइफ्रुट्स आयात गरेको छ । उक्त आयातबाट सरकारले १ अर्ब ३७ करोड ४३ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

८४ करोड बढीको सुपारी आयात

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो ३ महिनामा सुपारी मात्रै ८४ करोड बढीको आयात भएको छ । सुपारी तिहारमा दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने प्रतीकका रूपमा प्रयोग हुने गर्दछ । जबकी सुपारी नेपालका विभिन्न स्थानमा उत्पादन हुने गर्दछ । तर, मुलुकको माग धान्न भने विदेशकै भर पर्नुपरेको छ ।

विशेषगरी इन्डोनएसिया र थाइल्यान्डबाट सुपारी आयात हुने गरेको छ । समिक्षा अवधीमा यी दुई मुलुकबाट ८४ करोड ७७ लाख ७ हजार रुपैयाँ बराबरको ३२ ला ४० हजार किलोग्राम सुपारी नेपाल भित्रिएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

ओखरको आयातमा बाहिरियो ६५ करोड

चालु आर्थिक वर्ष ३ महिनामा मुलुकले ६५ करोड ३९ लाख ९९ हजार रुपैयाँ बराबरको १५ लाख २५ हजार किलोग्राम ओखर आयात गरेको छ । यसबाट सरकारले १५ करोड ८९ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालमा बोक्रासहितको ओखर चीन, भारत, जापान, कुवेत, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र संयुक्त राज्य अमेरिकाबाट भित्रिने गरेको विभागले जनाएको छ ।

समिक्षा अवधीमा चीनबाट ३८ करोड ९५ लाख रुपैयाँ बराबरको ९ लाख ७१ हजार किलोग्राम, भारतबाट २३ हजार रुपैयाँ बराबरको ४१ केजी ओखर आयात भएको छ ।

त्यसैगरी, जापानबाट १ केजी, कुवेतबाट १३२ केजी, कतारबाट २४८ केजी, साउदी अरेबियाबाट ६६ केजी, संयुक्त अरब इमिरेट्सबाट ६ केजी र संयुक्त राज्य अमेरिकाबाट ४ लाख ७९ हजार केजी ओखर आयात भएको छ ।

नरिवल आयातमा कति बाहिरीयो ?

मुलुकबाट नरिवल आयातमा मात्रै ५६ करोड बढी विदेशिएको छ । ३ महिनाको अवधीमा मुलुकमा ५६ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ६ हजार किलोग्राम नरिवल नेपाल भित्रिएको छ ।

नेपालमा नरिवल भारत, भियतनाम र कतारबाट आयात भएको छ । समिक्षा अवधीमा भारतबाट मात्रै ५४ करोड ७४ लाख रुपैयाँ बराबरको १ करोड १३ लाख ५ हजार किलोग्राम नरिवल आयात भएको छ । यसैगरी, भियतनामबाट १ करोड ८५ लाख रुपैयाँ बराबरको १ लाख १ हजार ९ किलोग्राम नरिवल आयात भएको छ भने कतारबाट २ हजार रुपैयाँको ४ किलोग्राम नरिवल भित्रिएको छ ।

त्यसैगरी यस वर्षको तिहारका लागि ४७ करोड ९३ लाख ३५ हजार रुपैयाँ बराबरको ५ लाख ९ हजार ७८ किलोग्राम बदाम आयात गरेको छ ।

मुलुकले बदाम अमेरिका, भारत, चीन, कतार, हङकङ, लढगायतका मुलुकबाट आयात गर्ने गरेको छ । ३ महिनामा अमेरिकाबाट ४७ करोड ४२ लाख रुपैयाँ बराबरको ५ लाख ३ हजार किलोग्राम बदाम आयात भएको छ । त्यसैगरी, भारतबाट ४७ लाख रुपैयाँ बराबरको ४ हजार ६४६ किलोग्राम, चीनबाट १ लाख ६१ हजार रुपैयाँ बराबरको १२५ किलोग्राम, कतारबाट ७७ हजार रुपैयाँको २८४ किलोग्राम र हङकङबाट १६ हजार रुपैयाँ बराबरको ५४ किलोग्राम बदाम आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

४६ करोडको काजु भित्रियो

चालु आर्थिक वर्षको ३ महिनामा मुलुकमा ४६ करोड ५७ लाख रुपैयाँ बराबरको ४ लाख ६९ हजार किलोग्राम काजु भित्रिएको छ । मुलुकमा काजु भारत, कुवेत, कतार, साउदी अरेबिया लगायतका मुलुकबाट आयात भएको छ ।

३ महिनामा सबैभन्दा बढी भारतबाट २५ करोड २८ लाख रुपैयाँ बराबरको २ लाख ४७ हजार किलोग्राम काजु नेपाल भित्रिएको छ । त्यसैगरी, कुवेतबाट १९ हजार रुपैयाँको १०२ किलोग्राम, कतारबाट ५९ हजार रुपैयाँको २७८ किलोग्राम र साउदीबाट ८ हजारको ५५ किलोग्राम काजु आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

त्यसैगरी, मुलुकमा तिहारका लागि ३० लाख १ हजार रुपैयाँ बराबरको १ हजार ९५७ किलोग्राम पिस्ता आयात भएको छ । उक्त पिस्ता भारत, कतार, संयुक्त अरब इमिरेट्स र संयुक्त अधिराज्यबाट आयात भएको हो ।

त्यस्तै, भारत, कुवेत, कतार र साउदी अरेबियाबाट ४ लाख ४३ हजार रुपैयाँ बराबरको २ हजार ९१ किलोग्राम खजुर आयात भएको छ भने भारत, कुवेत, कतार लगायतका मुलुकबाट ६ लाख ५९ हजार रुपैयाँ बराबरको २ हजार ४९५ किलोग्राम अन्य नट्सहरु आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार  ०७ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।