काठमाडौँ । सरकारले यही सातादेखि युवालाई लक्षित गरेर दुईदिने कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले कात्तिक १८ र १९ गते बेरोजगार युवालाई लक्षित गरेर एआईको प्रभावकारी प्रयोगका विषयमा निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको हो ।
मन्त्रालयका अनुसार तालिम बिहान १० बजेदेखि १२ बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म गरी चार वटा छुट्टाछुट्टै सत्रमा सञ्चालन गरिने छ । चार वटा सत्रमा प्रतिसत्र पाँच सय जनाका दरले दुई हजारसम्म सहभागी हुन सक्ने मन्त्रालयले जनाएको छ ।
तालिममा च्याटजिपिटी, क्लडलगायतका एआई उपकरणको प्रभावकारी प्रयोग, स्पष्ट र उपयोगी प्रम्प्ट लेखन तथा एआईको सहयोगमा इमेल, टिपोट, बैठकका निर्णय तथा आकर्षक प्रस्तुतीकरण तयार गर्ने सिप सिकाइने छ । साथै तस्बिर तथा छोटा भिडियो निर्माण, एआईको जिम्मेवार प्रयोग र प्राप्त जानकारीको सत्यता परीक्षण गर्ने तरिकासमेत समेटिने छ ।
रोजगारमन्त्री रामजी यादवले अनलाइन माध्यमबाट प्रत्यक्ष तालिम सञ्चालनको नयाँ अभ्यास भएकाले प्रविधिको विकाससँगै यसबाट सिर्जना हुने अवसर देशभरका सबै युवाको पहुँचमा पुग्ने विश्वास व्यक्त गरे ।






