राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी, बादल पराजीत

0
Shares

राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल देवकोटा विजयी बनेका छन् । गृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई पराजीत गर्दै राजनीतिक दलको समर्थनमा स्वतन्त्र नागरिकले निर्वाचन जितेर इतिहास रचेको हुन् ।

बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको बिहीबार सम्पन्न भएको उपनिर्वाचनमा बादललाई १ हजार ७४ मतले पराजीत गरेका हुन् ।

बादलले ४०१४ मत ल्याउँदा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा विजयी डा. देवकोटाले ५०८८ मत ल्याएका छन् ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए । उनले नेकपा एमालेका उम्मेदवार बादल र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङलाई पराजित गरेका हुन् ।
विजयीपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै देवकोटाले प्रदेश र स्थानीय तहको पक्षमा आवाज उठाउने बताए ।

राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो भने साढे ४ बजेदेखि मतगणना शुरु भएको थियो ।

स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३ र नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले २ मत मात्रै पाए । खिमलालले पाएको १२८ मतको मतभार २३०४ र बादलले पाएको मतभार १८५४ हुन्छ । प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाएका थिए । बादलले पाएको ४५ मतको मतभार २१६० हुन्छ भने खिमलालले पाएको ५८ मतको मतभार २७८४ हुन्छ ।

उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेकोमा प्रदेश सभा सदस्यतर्फ १०५ जना र स्थानीय तहतर्फ २३३ जना गरी जम्मा ३३८ जनाले मतदान गरेका थिए । यसमध्ये कोरोना भाइरस संक्रमित मतदाताको संख्या २५ थियो ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तह सदस्यतर्फको मतभार १८ रहेको छ । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०७८, बिहिबार  १८ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।