सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत  शेयर खरिद/बिक्री गर्न उत्साहित गराउनेलाई कारबाही गरिने

0
Shares

नेपाल धितोपत्र बोर्डले शेयर खरिद बिक्री गर्न उत्साहित गराउने उदेश्यले सूचना सम्प्रेषण नगर्न तथा नगराउन निर्देशन दिएको छ । 
 
बोर्डले विभिन्न व्यक्ति र समुहले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा नेप्से सूचक तथा सूचीकृत संस्थाको शेयरमुल्य बढ्ने वा घट्ने भन्दै निश्चित शेयरहरु खरिद गर्न वा बिक्री गर्न उत्साहित गराउने उदेश्यले अन्तरवार्ता र अभिव्यक्ति दिएको भन्दै त्यस्तो कार्य रोक्न निर्देशन दिएको हो ।
 
धितोपत्र सम्बन्धी ऐन २०६३ अनुसार शेयर खरिद बिक्री गर्न उत्साहित गराउने उदेश्यले सूचना सम्प्रेषण गर्न बर्जित गरेको छ । त्यस्तो कार्य गरेमा धितोपत्र कारोबार सम्बन्धी कसुर मानिने र कारवाही हुने बोर्डले जनाएको छ ।
 
धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोवार सम्बन्धी कसूर गरेको मानिने व्यवस्था रहेको छ । त्यस्तै, अन्य देशमा धितोपत्र बजार नियमन निकायबाट अनुमतिपत्र प्राप्त गरेका व्यक्ति वा संघसंस्थाले विस्तृत अध्ययनको आधारमा मात्र दोस्रो बजार सूचकांक तथा सूचिकृत संगठित संस्थाको शेयर मूल्यको विषयमा सार्वजनिक अभिव्यक्ति दिन पाउने व्यवस्था रहेको छ ।
 
यस्तै बोर्डले लगानीकर्ताहरुलाई कसैको उक्साहटमा नलागी सुझबुझपूर्ण तवरबाट लगानी गर्न अनुरोध गरेको छ।
 
बोर्डले संचार माध्यम, सामाजिक संजाल वा अन्य कुनै माध्यमबाट नेप्से परिसूचक तथा सूचिकृत संगठित संस्थाको शेयरको मूल्य बढ्ने वा घट्ने विषयमा टिका टिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित शेयरहरु किन्न उक्साउने वा नकिन्न अभिपे्ररीत गर्ने वा बजारको स्वतन्त्र रुपले संन्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन निर्देशन दिएको हो ।
 
बोर्डको सूचनाको अवज्ञा गरी अब उपरान्त बोर्डको स्वीकृति बीना यस्ता कार्यलाई निरन्तरता दिएको पाइएमा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही गरिने जनाएको छ ।
 
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ७ जेष्ठ २०७८, शुक्रबार  ०७ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।