क्रिप्टोकरेन्सी नियन्त्रण गर्ने चीनको चेतावनीपछि बिटकोइनको मूल्य ह्वातै घट्यो

0
Shares

चीनले क्रिप्टोकरेन्सीमाथि नियन्त्रण गर्ने बताएपछि बिटकोइनको मूल्य विगत तीन महिनामा पहिलो पटक ३४,००० अमेरिकी डलरभन्दा कम भएको छ।
 
चीनले मङ्गलवार ब्याङ्कलाई क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार गर्न प्रतिबन्ध लगाउँदै लगानीकर्ताहरूलाई क्रिप्टो कारोबारप्रति सचेत गराएको छ।
 
गत साता अमेरिकी कम्पनी टेस्लाले क्रिप्टोकरेन्सी कारोबार नगर्ने बताएपछि बिटकोइनको मूल्य १० प्रतिशतभन्दा बढीले घटेको थियो।
 
यो वर्षको आरम्भमा ३०,००० डलरभन्दा कम रहेको बिटकोइनको मूल्य मार्च र एप्रिलमा ६०,००० नाघेको थियो। बुधवार केही सुधार भएर एक बिटकोइनको मूल्य ३८,१३१ अमेरिकी डलर पुगे पनि समग्रमा त्यो कम नै थियो। अन्य डिजिटल मुद्राहरू इथर र डगकोयनको मूल्यमा पनि क्रमशः २२ र २४ प्रतिशतले कमी आएको छ।
 
इलोन मस्कको टेस्ला कम्पनीको शेयर मूल्यमा पनि तीन प्रतिशतले कमी आएको छ जसको कारण सो कम्पनीसँग डेढ अर्ब अमेरिकी डलर बराबरको बिटकोइन हुनु मानिएको छ। चीनमा सन् २०१९ देखि नै क्रिप्टोकरेन्सी कारोबार अवैध छ तर अनलाइनमा मानिसहरू कारोबार गरिरहेको कारण बेइजिङ चिन्तित बनेको थियो।
 
मङ्गलवार राज्यद्वारा सञ्चालित तीन संस्थाहरू न्याश्नल इन्टरनेट फाइनान्स असोसीएशन अफ चाइना, चाइना ब्याङ्किङ असोसीएशन र पेमेन्ट एन्ड क्लीएरिङ असोसीएशन अफ चाइनाले सामाजिक सञ्जालमा चेतावनी सार्वजनिक गरेका थिए।
 
उनीहरूले क्रिप्टोकरेन्सी कारोबारमा संलग्न हुँदा कुनै सुरक्षा नभएको बताएका थिए। उनीहरूले हालैका दिनमा क्रिप्टोकरेन्सीको मूल्यमा भएको ठूलो उतारचढावले मानिसको सम्पत्तिको सुरक्षालाई खलल पारेको बताउँदै यसले सामान्य आर्थिक कारोबारलाई लथालिङ्ग बनाएको बताएका थिए।
 
मार्केट्स डट कमका नील विल्सन भन्छन्, ‘चीनले केही समयदेखि क्रिप्टोकरेन्सीलाई दबाव पारिरहेका थिए र यो त्यसकै परिणाम हो। केन्द्रीय ब्याङ्कहरूले आफ्नै डिजिटल मुद्रातर्फ पाइला बढाइरहेको बेला अन्य देशहरूले यस्तै व्यवस्था गर्न सक्छन्।’ ‘अहिलेसम्म पश्चिमा देशहरूका नियामकहरू बिटकोइनका बारेमा सहज देखिएका छन् तर यो छिटै परिवर्तन हुन सक्छ।’
 
मार्चमा टेस्लाका मस्कले अचानक बिटकोइननमार्फत् टेस्ला कार किन्न सकिने घोषणा गरेका थिए। तर गत साता उनले वातावरणको चिन्ताका कारण भन्दै सो निर्णय फिर्ता लिए। मस्कको चिन्ता बिटकोइन निर्माणका लागि धेरै ऊर्जा खपत गर्ने कम्प्युटरहरूको प्रयोगका कारण वातावरणका पर्ने नकारात्मक प्रभाव थियो।
 
‘क्रिप्टोकरेन्सी राम्रो कुरो हो। तर यसको मूल्य वातावरणले चुकाउनु हुँदैन,’ मस्कले लेखेका थिए। उनले टेस्लाले आफ्नो बिटकोइन नबेच्ने बताएका थिए। चीनमा अवैध भए पनि विश्वभरिको ७५ प्रतिशत बिटकोइन माइनिङ चीनमा हुने गर्छ।
 
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।