काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै जाँदा बजारमा फूलमालाको कारोबार बढ्न थालेको छ । विशेषगरी तिहारमा घर, पसल तथा विभिन्न कार्यालय सजाउन र दिदीबहिनीले दाजुभाइलाई भाइटीकामा माला लगाइदिन फूलको माग उच्च हुने गर्छ ।
यस वर्ष तिहारमा सयपत्री फूलका करिब ४५ लाख, मखमलीका ६ लाख, गोदावरीका २० हजार र मिक्स फूलका करिब ६० हजार माला गरी ५१ लाख ८० हजार माला खपत हुने अनुमान गरिएको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । यी मध्ये अधिकांश माग स्वदेशमै उत्पादित फूलबाट पूर्ति हुने अपेक्षा गरिएको एसोसिएसनका अध्यक्ष राजेश भक्त श्रेष्ठले बताएका छन् ।
उनका अनुसार, गत वर्षको तिहारमा व्यवसायिक रूपमा उत्पादित करिब ४० लाख सयपत्री फूलका माला खपत भएको थियो । यस वर्ष पनि बजार माग करिब सोही हाराहारीमा रहने अनुमान गरिएको भए पनि उत्पादन तथा बजार विस्तारका कारण करिब ४५ लाख सयपत्री माला कारोबार हुने अनुमान गरिएको उनको भनाई छ ।
‘मखमली फूलको हकमा करिब ६ लाख माला खपत हुने अनुमान गरिएको मध्ये करिब ४ लाख माला आन्तरिक बजारमा खपत हुने र करिब २ लाख माला निर्यात हुने अनुमान गरिएको छ ।’ उनले भने, ‘मखमली फूलको उत्पादनमा नेपाल हाल आन्तरिक माग पूर्ति गर्न सक्षम रहेको छ ।’
काठमाडौंको इचंगुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी–बडिखेल, धादिङ, पाल्पा, कैलाली तथा इलाम लगायतका क्षेत्रमा मखमली फूलको व्यवसायिक उत्पादन हुँदै आएको उनले बताए ।
एसोसिएसनका अनुसार यस वर्षको तिहारमा सयपत्री फूलको ४५ लाख मालालाई औसत ९० रुपैयाँको थोक मूल्यको आधारमा ४० करोड ५० लाख रुपैयाँ, मखमली फूलको ६ लाख मालालाई औसत थोक मूल्य ४५ रुपैयाँका दरले दुई करोड ७० लाख रुपैयाँ, गोदावरी फूलको २० हजार मालालाई औसत थोक मूल्य १ हजार २०० रुपैयाँका दरले दुई करोड ४० लाख रुपैयाँ र मिक्स फूलको ६० हजार मालालाई औसत थोक मूल्य ४०० रुपैयाँका दरले २ करोड ४० लाख पर्नेछ ।
यसरी सयपत्री, मखमली, गोदावरी र मिक्स मालाको संयुक्त कारोबारबाट यस वर्षको तिहारमा करिब ४८ करोड रूपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।
पछिल्लो समय तिहारको समयमा फुलको माग उच्च हुने गरेको धादिङका फुल व्यवसायी प्रकाश रेग्मीले बताएका छन् ।
विगतदेखि नै करिब ४ रोपनी जग्गामा फूलखेती गर्दै आएका रेग्मीका बारीमा यतिबेला ढकमक्क सयपत्री र मखमली फूल फुलेको छन् । अहिले बिक्रीका लागि फुल टिप्न भ्याईनभ्याई छ । विगतका वर्षहरुमा पनि फुल बिक्री गर्दै आएका उनी यस वर्ष फुल सोचे अनुरुप फुल्दा खुशी भएका छन् ।
‘पहिले पहिले तिहारमा फुल बेच्न आफुले बोकेर बजारसम्म जानु पर्थ्यो ।’ उनले भने, ‘तर गत वर्षदेखि भने आफै बजार जान छाडे ग्राहकहरु आफै फुल लिन आउनुहुन्छ ।’ एक महिना अघिदेखि नै फुलको अडर आउन थाल्ने उनको भनाई छ ।
उनका अनुसार, फुलका लागि प्रयाप्त पानी चाहिने गर्छ । गत वर्षको तुलनामा यस वर्ष तिहार ढिलो भएता पनि वर्षा भईरहँदा फुल पनि फुलिरहेको छ । यस वर्ष सयपत्री फुल प्रतिकेजी ८०० रुपैयाँ र मखमली ५०० रुपैयाँमा बेचेको उनको भनाई छ ।
त्यसैगरी, सिद्धलेकका राजन तिमल्सिना पनि यतिबेला फुल टिप्नका लागि व्यस्त छन् । अन्य समयमा सहकारीको साधारण सभा, जिल्लामा हुने कार्यक्रममा समेत फूलको माला बेच्दै आएका उनलाई यस वर्ष भने तिहारको माग धान्न मुश्किल छ ।
अन्य समयमा पनि बिक्री भईरहने भएता पनि तिहारमा माग बढी हुने हुँदा माग धान्न अलि मुस्किल पर्ने उनको भनाई छ ।
‘हामी तिहारमा माला उनेर बेच्न भ्याउँदैनौँ’, उनले भने, ‘बारीमा आएर आफैँले फूल टिप्नु हुन्छ । प्रतिथुङ्गा ४ रुपैयाँ गरेर रकम लिन्छौँ ।’
उनका अनुसार, फूल उत्पादक किसानका लागि तिहार मुख्य बिक्रीको मौसम भए पनि उत्पादन व्यवस्थापन चुनौतीपूर्ण हुने गरेको छ । फूल खेतीमा मौसमको प्रभाव प्रत्यक्ष पर्ने भएकाले वर्षा, रोग तथा कीराको प्रकोप र तापक्रममा आउने परिवर्तनले उत्पादनमा असर पार्न सक्छ ।
तिहारको समयमा फूल फुल्ने गरी खेती व्यवस्थापन गर्न नसकिए बजारमा मागअनुसार आपूर्ति गर्न कठिन हुने उनको भनाई छ ।






