अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो विशाल अन्तरिक्षयान स्टारसिपको १५औँ परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । परीक्षणका क्रममा अन्तरिक्षबाट फर्किएको स्टारसिप पहिलोपटक प्रक्षेपण टावरको विशेष संरचनाको सहायताले सुरक्षित रूपमा अवतरण गरेको छ ।
शुक्रबार दिउँसो अमेरिकाको टेक्सासस्थित स्पेसएक्सको स्टारबेस केन्द्रबाट उडान भरेको स्टारसिप शनिबार स्थानीय समयअनुसार दिउँसो करिब ३ः२० बजे पुनः प्रक्षेपणस्थलमा फर्किएको थियो । करिब २२ घण्टा ३० मिनेट अन्तरिक्षमा बिताएपछि यान सुरक्षित रूपमा अवतरण भएको हो ।
यस परीक्षणको मुख्य उद्देश्य एउटै उडानमा सुपर हेभी बुस्टर र स्टारसिप दुवैलाई प्रक्षेपण टावरको विशेष यान्त्रिक प्रणालीबाट समात्ने प्रयास गर्नु थियो । तर, उडानका क्रममा दुवै भाग छुट्टिएपछि सुपर हेभी बुस्टर निर्धारित प्रक्षेपणस्थलमा फर्किन सकेन । उक्त बुस्टर मेक्सिकोको खाडीमा समुद्रमा अवतरण भएको थियो ।
यसैबीच, स्टारसिपले आफ्नो इन्जिन सञ्चालन गरी पृथ्वीको कक्षमा प्रवेश गरेको थियो । त्यस क्रममा उसले २६ वटा नयाँ पुस्ताका ‘स्टारलिङ्क भी३’ भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको थियो ।
भूउपग्रह प्रक्षेपणपछि २० घण्टाभन्दा बढी अन्तरिक्षमा रहेको स्टारसिपलाई पृथ्वीमा फर्काउने तयारी गरिएको थियो । स्पेसएक्सको उडान नियन्त्रण टोलीले ¥याप्टर इन्जिन पुनः सञ्चालन गरी यानलाई पृथ्वीको कक्षबाट बाहिर निकालेको थियो ।
त्यसपछि यान मेक्सिकोको खाडी हुँदै टेक्सासस्थित प्रक्षेपणस्थलतर्फ अघि बढेको थियो । वायुमण्डलमा प्रवेश गरेपछि तीनवटा ¥याप्टर इन्जिन सञ्चालन गर्दै यानले अवतरणका लागि गति र दिशा समायोजन गरेको थियो । अन्ततः प्रक्षेपण टावरको विशेष यान्त्रिक प्रणालीले स्टारसिपलाई सफलतापूर्वक नियन्त्रणमा लिएको थियो ।
यसअघि सेप्टेम्बर २८ मा भएको परीक्षण उडानमा स्टारसिप पहिलोपटक पृथ्वीको कक्षमा पुगेको थियो र २६ वटा स्टारलिङ्क भी३ भूउपग्रह प्रक्षेपण गरेको थियो ।
स्टारसिप र सुपर हेभी रकेट मिलेर बनेको यो प्रणाली पूर्ण रूपमा पुनः प्रयोग गर्न सकिने गरी विकास गरिएको हो । स्पेसएक्सले यसमार्फत पृथ्वीको कक्ष, चन्द्रमा, मंगल ग्रह तथा अन्य अन्तरिक्ष गन्तव्यमा यात्रु र सामग्री पु¥याउने लक्ष्य राखेको छ ।







