एनपिएलः चितवन राइनोजविरुद्ध कर्णाली याक्सको जित


काठमाडौँ । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आफ्नो अन्तिम खेलमा चितवन राइनोजविरुद्ध २४ रनको जित निकालेको छ । यो जितका बाबजुद कर्णाली प्लेअफमा पुग्न भने वञ्चित भएको छ ।

उसले यसपटक सात खेलमध्ये चारमा हार तथा तीन खेलमा मात्र जित निकाल्यो । कर्णालीविरुद्ध हारको सामना गरे पनि चितवनले प्लेअफमा स्थान बनाएको छ ।

आज कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो । उसका लागि कामिल मिसराले २५, उसमा मिरले अविजित २८, कुशल मल्लले १८ र देव खनालले १४ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अङ्कमासमेत रन जोड्न सकेनन् ।

बलिङतर्फ कर्णालीका लागि हुसेन तलातले ३, पवन सर्राफ र मार्क वाटले समान २/२ तथा सोमपाल कामीले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनायो । उसका लागि हुसेन तलातले अविजित ५१, आरिफुल इस्लामले ३५,, गुलशनकुमार झाले १८ र पवन सर्राफले १५ रन बनाए ।

बलिङतर्फ चितवनका लागि सलाहुद्दीन खान, उसामा मिर र कमल सिंह ऐरीले समान २/२ तथा कप्तान सिकन्दर रजा र रिजन ढकालले १÷१ विकेट लिए । आजै अर्को खेल काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्सबीच हुँदैछ ।

प्रकाशित मिति: २९ कार्तिक २०८३, आइतबार  १७ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।