गभर्नर पौडेलले पाए ‘बी’ ग्रेड, डेनमार्क र पेरुका गभर्नरले पाए सबैभन्दा उच्च


काठमाडौँ । सन् २०२६ को वार्षिक कार्यसम्पादन मूल्यांकनमा नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नर डा. विश्वनाथ पौडेलले ‘बी’ ग्रेड प्राप्त गरेका छन् । जुन पूर्व पूर्वगभर्नर महाप्रसाद अधिकारीे भन्दा एक तह माथि हो । पूर्वगभर्नर अधिकारीले ‘सी प्लस’ प्राप्त गरेका थिए ।

अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन संस्था ग्लोबल फाइनान्सले सार्वजनिक गरेको विश्वभरका केन्द्रीय बैंकका गभर्नरहरूको सन् २०२६ को वार्षिक कार्यसम्पादन मूल्यांकनमा गभर्नरहरूलाई ‘ए प्लस’देखि ‘एफ’सम्मको ग्रेड प्रदान गरिएको छ।

‘ए प्लस’ उत्कृष्ट र ‘एफ’ सबैभन्दा कमजोर कार्यसम्पादनको सूचक हो । ग्लोबल फाइनान्सको सन् २०२६ को ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड’मा डेनमार्क र पेरुका गभर्नरले सबैभन्दा उच्च ‘ए प्लस’ ग्रेड प्राप्त गरेका छन् ।

प्रतिवेदनअनुसार राष्ट्र बैंकले नीतिगत दर ४.२५ प्रतिशत र बैंक दर ५.७५ प्रतिशत कायम गरेको थियो । मौद्रिक नीतिमार्फत आर्थिक गतिविधिलाई सहयोग पु¥याउने प्रयासलाई पनि नेपालको मूल्यांकनमा सकारात्मक पक्षका रूपमा हेरिएको छ ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारीले ग्लोबल फाइनान्सको यसअघिका मूल्यांकनमा फरक–फरक ग्रेड प्राप्त गरेका थिए । उनले सन् २०२२ मा ‘सी’, सन् २०२३ मा ‘बी माइनस’ र सन् २०२४ मा ‘सी प्लस’ ग्रेड पाएका थिए ।

यसपटक वर्तमान गभर्नर पौडेलले ‘बी’ ग्रेड प्राप्त गरेका छन्। त्यस्तै, चिली, कोस्टारिका, ग्वाटेमाला, भारत, जमैका, पाराग्वे, सिंगापुर र दक्षिण अफ्रिकाका गभर्नरले ‘ए’ ग्रेड पाएका छन्।

अल्बानिया, अर्जेन्टिना, कम्बोडिया, चेक गणतन्त्र, डोमिनिकन गणतन्त्र, केन्या, कुवेत, मोरक्को, फिलिपिन्स, पोल्यान्ड, सर्बिया, स्विट्जरल्यान्ड, ताइवान र संयुक्त अरब इमिरेट्सले ‘ए माइनस’ ग्रेड प्राप्त गरेका छन्।

अस्ट्रेलिया, बहामास, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, इजिप्ट, नाइजेरिया, श्रीलंका, जाम्बिया, अजरबैजान, बुल्गेरिया, युरोपेली संघ, हंगेरी, नर्वे, जोर्डन र साउदी अरेबियाले ‘बी प्लस’ ग्रेड पाएका छन्।

नेपालसँगै आर्मेनिया, बोस्निया तथा हर्जगोभिना, बहराइन, कतार, स्विडेन, टर्की र बेलायतले ‘बी’ ग्रेड प्राप्त गरेका छन्।

त्यस्तै, पाकिस्तान, दक्षिण कोरिया र न्युजिल्यान्डले ‘बी माइनस’, अंगोला, घाना, मौरिटानिया र मोजाम्बिकले ‘सी प्लस’ ग्रेड पाएका छन्। मध्य अफ्रिकी राज्यहरूको बैंक, गाम्बिया, जर्जिया र रुवान्डाले ‘सी’, आइसल्यान्डले ‘सी माइनस’ तथा ट्युनिसियाले ‘डी प्लस’ ग्रेड प्राप्त गरेका छन्।

प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार  १४ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।