खुर्सानीमा गाउँलाई आत्मनिर्भर बनाउने कृषक यादवको प्रयास


नेपालगञ्ज । भारतीय बजारमा निर्भरता घटाउँदै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका किसान व्यावसायिक खुर्सानीखेतीमा जुटेका छन् ।

सोही सन्दर्भमा नेपालगञ्ज उपमहानगरपालिका–१९ का अगुवा किसान गोपी यादवले विभिन्न प्रजातिका खुर्सानीखेती गर्दै स्थानीय बजारको माग पूरा गर्ने प्रयास गरिरहेका छन् । कृषक यादवले भने, “हामीले आफ्नै खेतबारीमा मेहनत गरेर खुर्सानी उत्पादन गर्न सके परनिर्भरता घटाउन सकिन्छ । त्यसका लागि किसानले व्यावसायिक खेती र बजारको मागअनुसार उत्पादन बढाउन आवश्यक छ ।”

उनले उत्पादन गरेको खुर्सानी खरिद गर्न व्यापारी खेतमै पुग्ने गरेका छन् । व्यापारीले खुर्सानी बारीबाटै प्रतिपाउ ८० रुपैयाँका दरले खरिद गर्दै आएका छन् । त्यही खुर्सानी बजारमा प्रतिपाउ १०० रुपैयाँसम्म बिक्री हुने गरेको उनले बताए ।

कृषक यादवले भने, “हाम्रो बारीमै व्यापारी खुर्सानी किन्न आउनुहुन्छ । उहाँहरूले प्रतिपाउ ८० रुपैयाँमा खरिद गरेर बजारमा १०० रुपैयाँसम्म बिक्री गर्नुहुन्छ । यसले किसानलाई उत्पादन गर्न उत्साह मिलेको छ । बजार खोज्दै हिँड्नुपर्ने अवस्था पनि छैन ।”

उनले विगत केही वर्षदेखि १० कठ्ठा जमिनमा खोर्सानीखेती गर्दै आएका यस वर्ष भने केही क्षेत्रफल बढाएका छन् । अन्य बाली र तरकारीभन्दा खुर्सानीको कमाइ राम्रो भएकाले उनले जमिनको क्षेत्रफल बढाएको प्रतिक्रिया दिए ।

यादवका अनुसार बजारमा विभिन्न प्रजातिका खुर्सानीको माग छ । व्यापारीले एकैपटक तीनदेखि चार प्रकारका खुर्सानीको माग गर्दै आएका हुन्छन् । मागअनुसार सबै प्रजातिका खुर्सानी एकै ठाउँमा उपलब्ध हुन नसके व्यापारी भारतीय बजार रुपैडिहा जाने गरेका छन् । किसानले बजारमा कुन प्रजातिको खुर्सानीको माग छ भन्ने बुझेर खेती गर्नुपर्ने उनको सुझाव छ ।

उनले खुर्सानीखेतीमा उत्पादन बढाउने मात्र नभई गुणस्तर कायम राख्न पनि ध्यान दिँदै आएका छन् । उनका खुर्सानीका बोटमा देखिने ढुसी तथा ब्याक्टेरियाजन्य समस्या पहिचान गर्न परीक्षण गर्नेतर्फ ध्यान दिन आवश्यक छ ।

“खेती गर्दा उत्पादन मात्रै हेरेर हुँदैन, बालीको स्वास्थ्य र गुणस्तरमा पनि ध्यान दिनुपर्छ । खुर्सानीका बोटमा विभिन्न प्रकारका रोग तथा संक्रमण देखिन सक्छन् । त्यस्ता समस्या समयमै पहिचान गर्न सके बालीमा हुने क्षति कम गर्न सकिन्छ”, कृषक यादवले भने ।

उनका अनुसार, कृषि खेतमा बीउ रोपेर उत्पादन लिने मात्रै होइन । कुन बाली लगाउने, बजारमा केको माग छ, बालीमा कस्तो समस्या देखिएको छ भन्ने कुरा पनि बुझ्नुपर्छ । प्राविधिक ज्ञान लिएर खेती गर्न सके राम्रो उत्पादन र आम्दानी लिन सकिन्छ ।”

जाडो मौसम बढेसँगै तराईमा ढोंडे खुर्सानीको माग बढने हुनाले त्यो पक्षलाई मध्यनजर गर्दै कृषक यादवले त्यो जातको खुर्सानी लगाएका छन् । “हामी कहाँ खेतीयोग्य जमिन छ, मेहनत गर्ने किसान पनि छन् । बजारको मागअनुसार उत्पादन गर्न सकियो भने आफ्नै ठाउँमा राम्रो आम्दानी गर्न सकिन्छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिन सके किसान र उपभोक्ता दुवैलाई फाइदा पुग्छ”, उनले भने ।

स्थानीय बजारको माग पहिचान गरी आफ्नै खेतबारीमा मेहनत, प्राविधिक ज्ञान र बजारको मागलाई ध्यान दिएर खेती गर्न सके स्थानीयस्तरमै रोजगारी तथा आम्दानीका अवसर सिर्जना गर्न सकिने उनको सुझाव छ ।

प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार  १६ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।