आजदेखि उपत्यकामा परीक्षणबिनाको मासु बिक्रीमा रोक, अनुगमनमा २४० निरीक्षक परिचालन


काठमाडौँ । उपत्यकामा मंसिर १ गते अर्थात् आजदेखि मासुको स्वास्थ्य परीक्षण नगरी बिक्री वितरण गर्न नपाइने भएको छ । उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले परीक्षणबिनाको मासु बिक्रीमा रोक लगाउने तयारी गरेको हो ।

लामो समयदेखि कागजमै सीमित रहेको ‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ लाई सरकारले आगामी काठमाडौं उपत्यकामा कडाइका साथ कार्यान्वयनमा ल्याउन लागेको हो । रोगी र मरेका पशुपन्छी (खसी, बोका, भेडा, च्याङ्ग्रा, सुँगुर, बंगुर, भैंसी, बँदेल, खरायो, कुखुरा, हाँस) को मासु बिक्री गर्न नपाइने व्यवस्था गर्दै सरकारले पहिलो चरणमा आजदेखि उपत्यकाका सम्पूर्ण स्थानीय तहमा यो ऐन प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन लागेको हो ।

सरकारले भदौं १ गते राजपत्रमा सूचना प्रकाशित गरेर उक्त ऐन प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याएको छ । उपत्यकाको जनघनत्व र मासुको अत्यधिक खपत मध्यनजर गर्दै पहिलो चरणमा उपत्यकाका दुई महानगरपालिका, १६ नगरपालिका र तीन गाउँपालिका गरी २१ वटै स्थानीय तहमा सुरु हुने पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले बताए ।

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सुरक्षा निकायका प्रमुखहरूसँग समन्वय गर्न सहसचिवस्तरको उच्चस्तरीय संयन्त्र परिचालन गरिएको उनले जानकारी दिए ।

साथै, काठमाडौँ र ललितपुरमा तीन–तीन जना तथा भक्तपुरमा दुई जना सहसचिवले यसको संयोजन गरिरहेको र ३ जिल्लामा २४० जना दक्ष मासु निरिक्षक पनि परिचालन गर्न लागेको उनले बताए ।

उनका अनुसार, स्वास्थ्य जाँच र पसलमा बिक्री हुनु अघिको मासुको निरीक्षणसम्मको प्रक्रियालाई नियमन गर्नका लागि उपत्यकामा २५ जना सुपरिवेक्षक परिचालन गरिने तयारी भएको छ । त्यस्तै स्थलगत अनुगमन तथा प्राविधिक सहजीकरणका लागि वरिष्ठ पशु चिकित्सकहरूको नेतृत्वमा १२ वटा विशेष ‘कार्यदल’ समेत गठन गरेर काम थालिसकेको महानिर्देशक दाहालको भनाई छ ।

ऐन कार्यान्वयनसँगै अब जथाभावी रूपमा पशुपन्छी काट्न पाइने छैन । सरकारले तोकेका निश्चित वधस्थलमा मात्र पशु वध गर्नुपर्ने व्यवस्था लागू हुनेछ । उपत्यकामा सुविधासम्पन्न र आधुनिक वधशालाको पर्याप्त अभाव रहे पनि ऐन कार्यान्वयन नरोकिने विभागले जनाएको छ । आधुनिक वधशाला निर्माण नभएसम्मका लागि मासु सुपरिवेक्षकले तोकेका निश्चित स्थानमा पशु वध गर्न सकिने व्यवस्था मिलाइनेछ ।

यसका लागि स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका वधस्थलको पहिचान तथा व्यवस्थापन गर्नुपर्नेछ । पशु वधस्थलमा सरसफाइ, पानीको व्यवस्था, फोहोर व्यवस्थापन र स्वास्थ्यसम्बन्धी मापदण्ड पालना भए÷नभएको विषयमा समेत अनुगमन गरिनेछ ।

मासु पसल तथा वधशाला सञ्चालन गर्न चाहने व्यवसायीले सम्बन्धित सरकारी निकायबाट अनिवार्य इजाजतपत्र लिनुपर्नेछ । मापदण्ड पूरा नगरी सञ्चालन भएका पसल तथा वधशालालाई कानुनी दायरामा ल्याउने विभागले जनाएको छ ।

साथै, एउटा पशुपन्छीको मासुमा अर्को प्रकारको पशुपन्छीको मासु सम्मिश्रण गर्न नपाइने व्यवस्था पनि कडाइका साथ कार्यान्वयनमा ल्याएको छ । यस्तै, मासुको स्वाभाविक गुण वा स्वाद परिवर्तन गर्ने वा तौल बढाउने गरी कुनै पनि पदार्थ मिसाएर बिक्री गर्न नपाउने व्यवस्था पनि कार्यान्वयनमा ल्याइएको छ ।

मासु निरीक्षकले परीक्षणका क्रममा कुनै पशुपन्छीको मासु गुणस्तरहीन र अस्वस्थकर भएको पाएमा जफत गर्नुका साथै त्यस्तो मासु बिक्रीमा बन्देज लगाउने व्यवस्था यो ऐनले गरेको छ ।

ऐनअनुसार मासुको रुपमा प्रयोग हुने पशुपन्छीको बद्य गर्नु अघि मासु निरीक्षकले त्यस्ता पशुपन्छीको स्वास्थ्य परीक्षण गर्नेछन् । स्वास्थ्य परीक्षणबाट स्वस्थ्य रहेका पशुपन्छीलाई वद्य गर्न मासु निरीक्षकले अनुमति दिनेछन् । जाँचमा गुणस्तर राम्रो भएको अवस्थामा मासुमा ठिक छ भन्ने एक प्रकारको छाप लगाउने व्यवस्था गरिएको छ । यस्तो छाप लागेको मासु मात्रै बिक्रेताले बिक्री गर्न पाउने व्यवस्था गरिएको छ ।

ऐनअनुसार इजाजतपत्र बिना वधशाला सञ्चालन र मासु बिक्री गर्ने, अस्वस्थकर र रोगी पशुपन्छीको मासु बिक्री गर्ने विक्रेतामाथि पाँच हजारदेखि २० हजार रुपैयाँसम्म जरिवानाका साथै एक महिनादेखि तीन महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

दोस्रो चरणमा आगामी १ माघदेखि उपत्यका बाहिरका सम्पूर्ण महानगर, उपमहानगर र नगरपालिकामा र तेस्रो चरणमा २०८४ साउन १ देखि सम्पूर्ण गाउँपालिकामा यो ऐन लागु हुनेछ ।

विगतमा लागु गर्न असफल भएको यो नियम यस पटक निकै सुझबुझपूर्ण र रणनीतिक तरिकाले अगाडि बढेको विभागका महानिर्देशक डा. दाहालले बताएका छन् । उनले एकै पटक लागु गर्न कठिन देखिए पनि प्रयास गर्दै र सिक्दै त्यसलाई बिस्तारै कार्यान्वयनमा ल्याएरै छाड्ने बताए ।

प्रकाशित मिति: १ मंसिर २०८३, मंगलबार  ०७ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।