दमौली । स्थानीय बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा निर्माण गरिने राष्ट्रिय झण्डासहितको पार्क निर्माण गर्न देउसीभैलो अभियानबाट ५ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको छ ।
झण्डा पार्क निर्माण समितिले बन्दीपुर, डुम्रे र दमौली बजारमा सञ्चालन गरेको देउसीभैलोबाट पाँच लाख १३ हजार रुपैयाँ सङ्कलन भएको पार्क निर्माण समितिका योजनाकार टीकाराम गिरीले जाकारी दिए ।
उनकाअनुसार बन्दीपुरमा ८९ हजार रुपैयाँ, डुम्रे बजारमा दुई लाख ६१ हजार रुपैयाँ र दमौलीमा एक लाख ६३ हजार रुपैयाँ सङ्कलन भएको छ । जिल्लाका अन्य ठाउँमा समेत पुगेर झण्डा प्रदर्शन र यसको प्रचारप्रसार गरिने उनले बताए ।
बन्दीपुर–१ तल्लोटारमा निर्माण भइरहेको पार्कमा ठूलो आकारको राष्ट्रिय झण्डा राख्ने योजना छ । पार्कमा ६७ फिट अग्लो झण्डाको स्तम्भ निर्माण गरी ४५ फिट लम्बाइ र ३० फिट चौडाइको राष्ट्रिय झण्डा राखिनेछ । राष्ट्रिय गौरव र पहिचानसँग जोडिएको यस योजनालाई स्थानीयवासीले सामूहिक अभियानका रूपमा अघि बढाएका छन् ।
पार्क निर्माणका क्रममा हालसम्म १५ लाख रुपैयाँभन्दा बढीको काम श्रमदानबाट सम्पन्न भइसकेको समितिका संयोजक शेरबहादुर रानाले जानकारी दिए । आर्थिक स्रोतको अभावका बाबजुद स्थानीयको उत्साह र सहयोगले पार्क निर्माणलाई अघि बढाइएको उनले स्पष्ट पारे । पार्क निर्माणका लागि तीन करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।
पृथ्वीराजमार्ग नजिकै पार्क निर्माण भइरहेको हुँदा यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थप योगदान पुग्ने अपेक्षा गरिएको छ । पोखरा र काठमाडौँ आवतजावत गर्ने यात्रु तथा पर्यटकले सहजै अवलोकन गर्न सक्ने स्थानमा पार्क बन्ने भएकाले बन्दीपुरको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ ।
पार्क निर्माणपछि स्थानीय बासिन्दासँगै बन्दीपुर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका उक्त स्थान आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।







