काठमाडौँ । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सेवा क्षेत्रको योगदान उच्च देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनले मुलुकको समग्र आर्थिक गतिविधिमा सेवा क्षेत्रको हिस्सा करिब ६२ प्रतिशतको हाराहारीमा रहेको देखाएको छ ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्र अर्थात् तृतीय क्षेत्रको अंश ६१.८१ प्रतिशत कायम भएको हो । अघिल्लो आर्थिक वर्षमा सेवा क्षेत्रको अंश ६१.८० प्रतिशत रहेको थियो ।
सेवा क्षेत्रअन्तर्गतका विभिन्न उपक्षेत्रहरूको वृद्धिदर पनि सकारात्मक देखिएको छ । चालु आर्थिक वर्षमा सेवा क्षेत्रअन्तर्गत वित्तीय तथा बीमासम्बन्धी क्षेत्रको उत्पादन ९.१६ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको छ । यसैगरी, यातायात तथा भण्डारण क्षेत्र ५.७९ प्रतिशतले, सूचना तथा सञ्चार क्षेत्र ५.५३ प्रतिशतले, प्रशासनिक तथा सहयोगी सेवा क्षेत्र ४.५२ प्रतिशतले र थोक तथा खुद्रा व्यापार एवं मोटरगाडी मर्मत सेवा क्षेत्र ४.५१ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ । साथै, मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्र ३.२७ प्रतिशतले, आवास तथा भोजन सेवा क्षेत्र २.६९ प्रतिशतले र शिक्षा क्षेत्र १.५० प्रतिशतले वृद्धि भएको अनुमान गरिएको छ ।
कृषि क्षेत्रको योगदान २४ प्रतिशत
अर्थतन्त्रको अर्को महत्त्वपूर्ण आधार मानिने कृषि, वन तथा मत्स्यपालन क्षेत्रको अंश भने खुम्चिएको छ । जीडीपीमा यो क्षेत्रको हिस्सा प्रचलित मूल्यमा २४.०३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको अंश २४.५० प्रतिशत रहेको थियो । बृहत् औद्योगिक वर्गीकरणको आधारमा हेर्दा समीक्षा वर्षमा प्राथमिक क्षेत्र (कृषि, वन, मत्स्यपालन र खानी तथा उत्खनन्) को कुल अंश २४.४६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश २४.९६ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८२/८३ मा कृषि, वन र मत्स्यपालन क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत मात्रै रहने अनुमान गरिएको छ । जुन अघिल्लो वर्ष ३.०५ प्रतिशत रहेको थियो ।
उद्योग क्षेत्रको अंश १४.१६ प्रतिशतमा सीमित
समीक्षा वर्षमा कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्र (द्वितीय क्षेत्र) को अंश १४.१६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको अंश १३.७० प्रतिशत रहेको थियो । बृहत् औद्योगिक वर्गीकरणअनुसार प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको अंश क्रमशः २४.४६ प्रतिशत, १३.७३ प्रतिशत र ६१.८१ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा उद्योग क्षेत्रको समग्र वृद्धिदर ५.६७ प्रतिशत हुने अनुमान गरिएको छ, जुन अघिल्लो वर्ष ३.३१ प्रतिशत मात्र रहेको थियो । उद्योग क्षेत्रअन्तर्गत विद्युत् तथा ग्याँस क्षेत्रको उत्पादन २०.९३ प्रतिशतले उच्च दरमा वृद्धि भएको छ । त्यस्तै, खानी तथा उत्खनन् क्षेत्र ३.५२ प्रतिशतले, उत्पादनमूलक उद्योग २.८३ प्रतिशतले, निर्माण क्षेत्र २.२१ प्रतिशतले र पानी आपूर्ति, ढल तथा फोहोर व्यवस्थापन क्षेत्र १.९९ प्रतिशतले बढेको अनुमान गरिएको छ ।
प्रदेशगत योगदानमा बागमती अग्रस्थानमा
प्रतिवेदनमा उल्लेख भएअनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको योगदान उच्च रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा ३६.७१ प्रतिशत रहेको छ । यता सबैभन्दा कम योगदान कर्णाली प्रदेशको ४.२० प्रतिशत मात्र रहेको अनुमान गरिएको छ ।
त्यसैगरी, कोशी प्रदेशको हिस्सा १५.८० प्रतिशत, मधेश प्रदेशको हिस्सा १३.०८ प्रतिशत, गण्डकी प्रदेशको ८.९८ प्रतिशत, लुम्बिनी प्रदेशको १४.१९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ७.०३ प्रतिशत हिस्सा रहेको छ ।







