वीरगञ्ज भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन


पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिक महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका अनुसार गत कात्तिकमा रु १७ अर्ब ७९ करोड राजस्व सङ्कलन भएको छ । सो महिनामा रु १७ अर्ब ६४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । भन्सार कार्यालयले लक्ष्यभन्दा रु १५ करोड बढी सङ्कलन गरेको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिए । 

गत कात्तिकमा पेट्रोलियम पदार्थ, औद्योगिक कच्चापदार्थ, सवारीसाधन तथा पार्टपुर्जा, खाद्यान्न, फलामलगायत विभिन्न व्यापारिक वस्तुको आयातबाट सबैभन्दा बढी राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ । 

सो भन्सार कार्यालयले गत भदौदेखि लगातार लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्दै आएको छ । असोज महिनामा मात्रै कार्यालयले रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको थियो । 

कार्यालयले वार्षिक लक्ष्यको करिब ३० प्रतिशत राजस्व सङ्कलन गरिसकेको प्रमुख भन्सार प्रशासक मैनालीले जानकारी दिए ।

प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार  ०८ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।