काठमाडाैँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार गत वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको पहिलो तीन महिनामा यस्तो वृद्धि ३५.४ प्रतिशत रहेको थियो।
राष्ट्र बैंकको तथ्यांकअनुसार २०८३ असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ। जबकि अघिल्लो वर्षको असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको थियो।
समीक्षा अवधिमा अमेरिकी डलरमा गणना गरिएको रेमिट्यान्स आप्रवाहसमेत १६.७ प्रतिशतले वृद्धि हुँदै ४ अर्ब ६० करोड डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स वृद्धि दर २९.२ प्रतिशत थियो।
यसैगरी, चालु आर्थिक वर्षको असोज मसान्तसम्म खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर ७ खर्ब ६२ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा पनि उल्लेख्य उपस्थिति देखिएको छ। असोज मसान्तसम्म नयाँ तथा संस्थागत र व्यक्तिगत प्रक्रियामार्फत अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख २१ हजार ८७९ पुगेको छ। त्यस्तै, पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ८२ हजार ३६९ रहेको छ।







