पोखरामा मंसिर २६ गते ‘माछापुच्छ्रे दौड २०२६’ आयोजना हुने


पोखरा । पोखरामा आगामी मंसिर २६ गते ‘माछापुच्छ्रे दौड २०२६’ आयोजना हुने भएको छ। माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजन तथा हिमालयन ट्रेल रनिङसँगको सहकार्यमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बैंकले जनाएको छ। प्रतियोगितामार्फत स्वस्थ जीवनशैलीको महत्व अभिवृद्धि गर्नुका साथै पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा साहसिक पर्यटन गन्तव्यका रूपमा चिनाउने अपेक्षा गरिएको छ।

प्रतियोगितामा धावकहरूले आफ्नो क्षमता र रुचिअनुसार चार विधामा सहभागी हुन सक्नेछन्। जसअन्तर्गत ५ किलोमिटर, १२ किलोमिटर (कर्पोरेट विधा), २१ किलोमिटर र ४२ किलोमिटर दौड समावेश छन्।

प्रतियोगितामा सहभागी हुन इच्छुक धावकहरूले आयोजकको आधिकारिक वेबसाइटमार्फत आफूलाई उपयुक्त विधा छनोट गरी अनलाइन दर्ता गर्न सक्नेछन्।

बढ्दो व्यस्त जीवनशैली र शारीरिक निष्क्रियताका कारण नियमित व्यायाम तथा खेलकुदको महत्व बढ्दै गएको सन्दर्भमा स्वस्थ जीवनशैलीप्रति जनचेतना फैलाउने उद्देश्यले प्रतियोगितामा सहकार्य गरिएको माछापुच्छ्रे बैंकले जनाएको छ।

यस प्रतियोगिताले पोखराको पर्यटन प्रवर्द्धनसँगै दौड तथा साहसिक खेलकुदमा रुचि राख्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकलाई आकर्षित गर्ने आयोजकको अपेक्षा छ।

प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार  १७ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।