असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि उच्च


काठमाडाैँ । चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा नेपालमा वार्षिक उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार गत वर्षको असोज महिनामा मुद्रास्फीति १.४७ प्रतिशत मात्रै रहेको थियो।

राष्ट्र बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०४ प्रतिशत पुगेको छ। त्यस्तै, गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ५.४६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशत ऋणात्मक थियो भने गैरखाद्य तथा सेवा समूहमा ३.८० प्रतिशत मूल्यवृद्धि भएको थियो।

चालु आर्थिक वर्षको पहिलो तीन महिनाको औसत मुद्रास्फीति ६.२२ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो दर १.६७ प्रतिशत मात्रै रहेको थियो।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत सबैभन्दा बढी घ्यू तथा तेलको मूल्य बढेको छ। समीक्षा अवधिमा घ्यू तथा तेलको मूल्य १६.४४ प्रतिशतले वृद्धि भएको छ। यस्तै, फलफूलको मूल्य १५.४६ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको ११.८४ प्रतिशत, माछा तथा मासुको ८.९१ प्रतिशत, मरमसलाको ७.७१ प्रतिशत र तरकारीको मूल्य ७.२८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

गैरखाद्य तथा सेवा समूहमा यातायात क्षेत्रको मूल्यवृद्धि सबैभन्दा उच्च देखिएको छ। यस समूहअन्तर्गत यातायातको मूल्य १२.९७ प्रतिशतले बढेको छ। त्यस्तै, मदिराजन्य पेय पदार्थको ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ६.०१ प्रतिशत र सुर्तीजन्य पदार्थको मूल्य ५.४५ प्रतिशतले वृद्धि भएको छ।

क्षेत्रगत रूपमा हेर्दा ग्रामीण भेगको तुलनामा सहरी क्षेत्रमा मुद्रास्फीति केही कम देखिएको छ। असोज महिनामा ग्रामीण क्षेत्रको उपभोक्ता मूल्य सूचकाङ्क ६.६३ प्रतिशतले बढ्दा सहरी क्षेत्रको वृद्धि ६.२८ प्रतिशत रहेको छ।

प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी मुद्रास्फीति मधेश प्रदेशमा ७.३७ प्रतिशत रहेको छ। सबैभन्दा कम भने सुदूरपश्चिम प्रदेशमा ५.१३ प्रतिशत देखिएको छ।

त्यसैगरी, भौगोलिक क्षेत्रका आधारमा तराईमा मुद्रास्फीति ६.८८ प्रतिशत पुगेको छ। काठमाडौं उपत्यकामा ५.९२ प्रतिशत, पहाडी क्षेत्रमा ६.१४ प्रतिशत र हिमाली क्षेत्रमा ५.५७ प्रतिशत मूल्यवृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार  १७ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।