शोधनान्तर बचत ३ खर्ब नाघ्यो, विदेशी मुद्रा सञ्चिति २७ अर्ब ३९ करोड डलर पुग्यो


काठमाडाैँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको शोधनान्तर स्थिति ३ खर्ब रुपैयाँभन्दा बढीले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार समीक्षा अवधिमा शोधनान्तर बचत ३ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो।

गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको थियो। अमेरिकी डलरमा गणना गर्दा अघिल्लो वर्ष १ अर्ब ८८ करोड डलर बचत रहेको शोधनान्तर स्थिति यस वर्ष बढेर १ अर्ब ९८ करोड डलर पुगेको छ।

यसैगरी, समीक्षा अवधिमा चालु खाता २ खर्ब ७९ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ। गत वर्षको सोही अवधिमा चालु खाता बचत २ खर्ब ३८ अर्ब रुपैयाँ थियो। अमेरिकी डलरमा समेत चालु खाता बचत बढेको छ। अघिल्लो वर्ष १ अर्ब ६९ करोड डलर बचत रहेको चालु खाता यस वर्ष १ अर्ब ८२ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर भने घटेको छ। गत वर्षको पहिलो तीन महिनामा ५ अर्ब ५५ करोड रुपैयाँ रहेको यस्तो ट्रान्सफर यस वर्ष २ अर्ब ३१ करोड रुपैयाँमा सीमित भएको छ। अर्कोतर्फ, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) मा भने सुधार देखिएको छ। गत वर्ष १ अर्ब ७४ करोड रुपैयाँ रहेको प्रत्यक्ष वैदेशिक लगानी यस वर्ष बढेर ४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।

विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब पुग्यो


नेपालको कुल विदेशी विनिमय सञ्चितिमा पनि वृद्धि भएको छ। २०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति ६.८ प्रतिशतले बढेर असोज मसान्तमा ४१ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति ८.२ प्रतिशतले वृद्धि भएको छ। असार मसान्तमा २५ अर्ब ३१ करोड डलर रहेको विदेशी विनिमय सञ्चिति असोज मसान्तसम्म आइपुग्दा २७ अर्ब ३९ करोड डलर पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग रहेको विदेशी मुद्रा ६.४ प्रतिशतले बढेर ३६ खर्ब ९५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। असार मसान्तमा राष्ट्र बैंकसँग ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ सञ्चिति थियो।

त्यस्तै, नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति पनि ९.८ प्रतिशतले बढेको छ। असार मसान्तमा ४ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ रहेको यस्तो सञ्चिति असोज मसान्तमा बढेर ४ खर्ब ६५ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। असोज मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१ प्रतिशत रहेको छ।

सञ्चितिले १९.९ महिनाको वस्तु आयात धान्ने


विदेशी विनिमय सञ्चिति पर्याप्तताका हिसाबले नेपालको अवस्था बलियो देखिएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चितिले १९.९ महिनाको वस्तु आयात र १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।

असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ६३ प्रतिशत पुगेको छ। त्यस्तै, कुल आयातसँगको अनुपात १४३.७ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ४४.८ प्रतिशत रहेको छ।

गत असार मसान्तमा यी अनुपात क्रमशः ५९.१ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत थिए। यसले कुल गार्हस्थ्य उत्पादन र विस्तृत मुद्राप्रदायको तुलनामा विदेशी मुद्रा सञ्चितिको अनुपात बढेको देखाउँछ। यद्यपि कुल आयातसँगको अनुपात भने घटेको छ।

प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार  १७ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।