नेपाल बैंकले सुरु गर्‍यो ‘फोनलोन’ सेवा, मोबाइलबाटै २ लाखसम्म कर्जा पाइने


काठमाडौँ । नेपाल बैङ्क लिमिटेडले आफ्नो ९० औँ वार्षिकोत्सवको अवसर पारेर ‘एनबीएल बैङ्कस्मार्ट एक्सपी’ मोबाइल बैङ्किङ एपमार्फत ‘एनबीएल फोनलोन’ नामक नयाँ डिजिटल कर्जा सेवा सुरु गरेको छ । वित्तीय समावेशीकरण र डिजिटल बैङ्किङ सेवाको विस्तारलाई निरन्तरता दिँदै बैङ्कले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

फोनलोन प्रालिद्वारा सञ्चालित यस सेवाले पूर्ण रूपमा डिजिटल, छिटो र सहज कर्जा प्रवाहलाई सम्भव बनाउने बैङ्कले जनाएको छ । यस सेवामार्फत बैङ्कका योग्य ग्राहकहरूले दुई लाख रुपैयाँसम्मको कर्जा कुनै धितो, कागजी प्रक्रिया वा बैङ्क शाखा भ्रमण नगरी सिधै मोबाइल एपमार्फत प्राप्त गर्न सक्नेछन् । छिटो, सरल र सहज रूपमा औपचारिक कर्जामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो सेवा ल्याइएको बैङ्कको भनाइ छ ।

कर्जाको सीमा तथा योग्यता बैङ्कले तोकेका मापदण्डअनुसार निर्धारण गरिनेछ, जसमा तलब जम्मा कारोबारको नियमितता, हालसालैका कर्जा दायित्व तथा कर्जा चुक्ता गर्ने व्यवहार समावेश छन् । ग्राहकहरूले एक महिनाको अवधिमा वा १२ महिनासम्म किस्ताबन्दी (ईएमआई) मार्फत कर्जा चुक्ता गर्ने विकल्प रोज्न सक्नेछन् । साथै, कर्जामा पूर्वभुक्तानी सुविधासमेत उपलब्ध रहेको छ ।

बैङ्कबाट मोबाइल बैङ्किङ सेवा लिइरहेका योग्य ग्राहकहरूले तोकिएको मापदण्ड तथा दर्ता प्रक्रिया पूरा गरी एनबीएल बैङ्कस्मार्ट एक्सपी एपबाटै कर्जाका लागि आवेदन दिन र सेवा उपयोग गर्न सक्ने बैङ्कले जनाएको छ ।

प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार  १७ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।