
‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ २ अर्ब लगानीमा खुलेको राष्ट्रिय खाद्य बैंकको पोखराको हेम्जामा तेश्रो बृहत कृषि परियोजनाको उद्घाटन गरिएको छ । मंगलबार स्थानीयहरुको उपस्थीतिमा सो परियोजनाको उद्घाटन गरिएको बैकका अध्यक्ष शंकर उप्रेतीले बताए ।
बैंकले अघिल्लो साता सोही स्थानमा आफ्नो शाखा कार्यालयको समेत विस्तार गरेको थियो । यसअघि खाद्य बैंकले बर्दिया र झापा जिल्लामा आफनो बृहत कृषि परियोजना उद्घाटन गर्नुका साथै सम्पर्क कार्यालय समेत विस्तार गरेको थियो ।
झापा र बर्दियामा खाद्य बैंकले झण्डै २ सय विघा जग्गा लिजमा लिएर कृषिको काम थालिसकेको छ । तेश्रो कृषि परियोजना उद्घाटन गरिएको पोखरा हेम्जामा बैंकले हाल तत्कालका लागि ३५ रोपनी जग्गा लिजमा लिएर पाइलट प्रोजेक्ट सुरु गरेको अध्यक्ष शंकर उप्रेतीले बताए ।
सो परियोजना अन्र्तगत खासगरी आलु उत्पादनमा जोड दिइने उप्रेतीले बताए । बैंकले थप ३ सय रोपनी जग्गामा किसानहरुसँग सहकार्य गरेर कृषि गरिने उनले बताए । स्थानीयहरुको अभुुतपूर्व सहयोग र सक्रियता मै सो परियोजना अघि बढेको पनि अध्यक्ष उप्रेतीले बताए ।
अध्यक्ष उप्रेतिले भने–‘हाम्रा यी परियोजनाहरु पाइलट प्रोजेक्टको रुपमा अघि बढाइने छ । हामी आफैँले उत्पादनको काम अघि मात्रै बढाउँदैनौ, किसानलाई पनि आधुनिक एवं व्यवस्थीत खेती प्रणालीमा समाहित गर्दै लैजान्छौ । साथै हाम्रै उत्पादन प्रणाली, मल–बिउ प्रयोग गरेर गुणस्तरीय उत्पादन गर्ने कृषिकहरुका सबै उत्पादनहरु यसै बर्षबाट हामी खरिद पनि गछौ । ब्राडिङ गरेर यसै बर्षबाट त्यस्ता खाद्य वस्तु बजारमा ल्याउँछौ’ ।
हेम्जा बासीलाई राष्ट्रिय खाद्य बैंकले सुरु गरेको व्यवसायिक कृषि अभियान मन परेको र करिव ५०० जनाले संस्थापक शेयर सदस्य बन्न तत्परता देखाएको पनि उप्रेतिले बताए ।
राष्टिय खाद्य बैंकमा हालसम्म ५९० प्रमोटर शेयर सदस्य छन् । त्यसलाई बढाएर एक हजार जना बनाउने बैंकको तयारी छ । साथै आवश्यक मापदण्ड पूरा गरी छिट्टै सर्वसाधारणका लागि आइपिओ जारी गर्नेसमेत तयारी भएको अध्यक्ष उप्रेतीले बताएका छन् ।
कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनीका रूपमा खाद्य बैंक स्थापना भएकोले बैंक मार्फत धान, गहुँ, मकै, तरकारी तथा फलफूलको उत्पादन तथा व्यापार गर्दै किसानसँग सहकार्य गर्दै उत्पादन बढाउने अध्यक्ष उप्रेतीले बताए ।
बैंकले पहिलो चरणमा २३ जिल्लामा चालु आर्थिक वर्षभित्रै कृषि उत्पादनको काम सुरु गर्ने तयारी गरेको र हाल कैलाली, कञ्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, रुपन्देही सहित १३ जिल्लामा जग्गा लिएर उत्पादन सुरु गरिसकेकोले हाल झापा, मोरङ, सुनसरी लगायत जिल्लामा थप जग्गा लिने तयारी पूरा भएको जनाइएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया