
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी (HGI) को बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ । नेप्सेका अनुसार कम्पनीले शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको ३ प्रतिशत बोनसपछि मुल्य समायोजन भएको हो ।
बोनस समायोजनपछि नेप्सेले प्रतिशेयर मूल्य ७४४ कायम गरेको छ । गत मंगलबार कारोबार भएको इन्स्योरेन्सको अन्तिम मूल्य ७६६ रुपैयाँलाई आधार मानेर मूल्य समायेजन गरिएको हो ।
शेयरमूल्य समायोजनसँगै बिहीबार इन्स्योरेन्स कम्पनीको शेयर समायोजित मूल्यलाई आधार मानेर खुलेको छ ।
इन्स्योरेन्सले गत आवको नाफाबाट ३ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ३.७५ प्रतिशत नगद गरी कुल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश अनुमोदन गर्न कम्पनीले जेठ २८ गते शुक्रबार केन्द्रीय कार्यालाय थापागाँउ, काठमाडौँमा बिहान ११ः०० बजे भर्चुअल माध्यमबाट २७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ६.७५ प्रतिशत लाभांश पारित गर्नेछ । साधारण सभाले चुक्ता पूँजी १ अर्ब ६ करोड रुपैयाँ बराबरको ३ प्रतिशतले हुन आउने ३ करोड २० लाख ४० हजार रुपैयाँ बराबरको बोनस शेयर र ३.७५ प्रतिशतले हुन आउने ४ करोड ६० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले कुनै कम्पनीलाई प्राप्ती वा एक आपसमा गाभिने प्रकृयाको लागि उपयुक्त कम्पनी पहिचान तथा छनौट गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ । सभाले आर्थिक वर्ष २०७६।७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले जेठ १३ गते बिहीबारदेखि २८ गतेसम्म शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको हो ।
यसअनुसार जेठ १२ गते बुधबारसम्म कायम शेयरधनीले उक्त लाभांश पाउनुपर्नेमा बुधबार बुद्धजयान्ती तथा उभौली पर्वको सार्वजनिक विदा परेसँगै मंगलबारसम्म कायम शेयरधनीले मात्र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया