सरकारले शेयर बजारमा हुने सट्टेवाजीलाई नियन्त्रण गर्ने प्रयास गरेको छ । आगामी आर्थिक वर्षको बजेटले अल्पकालीन र दीर्घकालीन लगानीकर्ता वर्गिकरण गरी सट्टेवाजी नियन्त्रण गर्ने प्रयास गरेको हो ।
शेयर बजार सट्टेवाजले चलाउन थालेपछि समय समयमा अस्वाभाविक उतारचढाबमा देखापर्दा साना तथा नयाँ लगानीकर्ता जोखिममा पर्ने गरेका थिए। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत शेयर बजारमा हुने सट्टेवाजीलाई नियन्त्रण गर्नका लागि अल्पकालिन कारोबार गर्नेहरुको लाभकर बढाएको छ ।

केहि दिन अघि मात्रै नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थालाई शेयरमा अल्पकालीन लगानी गर्न नपाउने व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक वर्षभन्दा बढी अवधिको शेयर तथा डिबेञ्चरमा मात्र लगानी गर्न पाइने व्यवस्था गरेको छ ।
पछिल्लो समयमा बैंकहरु शेयर बजारको ठूला खेलाडीका रुपमा देखा परेका थिए ।
बजेट र मौद्रिक नीति मार्फत सरकारले शेयर बजारमा हुने सट्टेवाजीलाई नियन्त्रणमा लिएर साना तथा नयाँ लगानीकर्ताहरुको हित संरक्षण गर्न खोजेको देखिएको छ । बजेटले अल्पकालीन लगानीकर्तालाई बढी कर र दीर्घकालीन लगानीकर्तालाई कम कर लाग्ने व्यवस्था गरेको छ। बजारका लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन गरी विभाजन गरेर फरकफरक लाभकर निर्धारण गरिएको छ ।
सरकारले गरेको वर्गीकरण अनुसार १ वर्षभन्दा कम अवधिलाई अल्पकालीन र १ वर्षभन्दा बढी अवधि लगानी गर्दा दीर्घकालीन भनेर छुट्याइएको छ । अबदेखि १ वर्षभन्दा कम अवधि शेयर होल्ड गर्नेले ७.५% लाभ कर तिर्नुपर्नेछ भने एक वर्षभन्दा बढी अवधि होल्ड गर्दा ५% लाभकर तिरे पुग्नेछ । सरकारले आर्थिक अध्यादेश २०७८ मा यस्तो ब्यबस्था गरेको हो।
नयाँ व्यवस्था अनुसार लगानीकर्ताले शेयर खरिद गरेको ३६५ दिन भन्दा अगावै बिक्रि गरेमा ७.५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । ३६५ दिनपछि शेयर बिक्रि गरेमा भने हाल कायम अनुसार कै ५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । यद्यपि यो नाफामा मात्र लाग्ने कर हो । यदि शेयर बिक्रि गर्दा घाटा बाहेकको छ भने लाभकर तिर्नु पर्दैन । अहिलेसम्म व्यक्तिगत लगानीकर्ताले ५% र संस्थागतले १०% लाभकर तिर्दै आएका छन्। यस व्यवस्थासँगै अब २ प्रकारका लाभकर कार्यान्वयनमा आउनेछ ।
शेयर लगानीकर्ताहरुले ट्रेडर र लगानीकर्ता छुट्याएर सोहि अनुसार लाभकर कायम गर्न माग गरेका थिए । तर सरकारले १ वर्ष भन्दा बढी समय शेयर होल्ड गर्ने लगानीकर्ताको लाभकर नघटाई १ वर्ष भन्दा कम शेयर होल्ड गर्ने लगानीकर्ताको लागि लाभकर बढाएको हो । नेपाल धितोपत्र बोर्डले पनि शेयर लगानीकर्ताको वर्गिकरण गरी करको दर फरक गर्न सुझाब दिएको थियो ।
नेपाल राष्ट्र बैंकले पनि मौद्रीक नीतिको तेस्रो समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाले सर्वसाधरणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने व्यवस्था गरेको छ।
बजार अल्पकालीन कारोबारी र दिर्घकालीन गरी दुवै खालका लगानीकर्ता हुने गर्छन् । सट्टेवाजले सामान्य लगानीकर्ताहरुलाई बुलिस ट्र्यापमा पार्ने जोखिम रहन्छ । सट्टेवाज हावी भएको अवस्था बजार निक्कै चलायमान हुने गर्छ । उनीहरुले समूहगत रुपमा बजारमा खेल्ने कोशीस गर्छन् । पछिल्लो समयको बजारको प्रवृति मूल्याकंन गर्ने हो भने पनि यो प्रष्ट देखिन्छ ।
बजार वढेको समयमा सट्टेवाजले एक समूहको शेयर खरिद गर्ने र अर्को समूहको शेयरमा थोरै भएपनि नाफा बुक गर्ने गरेको पाइन्छ । यसकारण बजारमा समूहगत उतारचढाब समेत देखिने गर्छ । शेयर बजारमा सट्टेवाज हाबी हुँदा शेयर मूल्य छिनमै बढ्ने र छिनमै घट्ने हुन्छ जसले गर्दा शेयरको मूल्य प्राकृतिक हो वा कृतिम हो सामान्य लगानीकर्ता झन अन्योलमा पर्ने गछर््न ।
सरकारले नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)को २२ प्रतिशत सेयर ग्राहकलाई उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । यससँगै अब ग्राहकले एनटीसीको सिमसँगै एनटीसीको शेयर पनि पाउने छन् ।
यस्तै सरकारले आगामी आर्थिक वर्षदेखि वस्तु विनिमय बजार सञ्चालन गर्ने भएको छ । अर्थमन्त्रि विष्णु प्रसाद पौडेलले आगामी वर्षको बजेटमा पूँजीबजारलाई प्राथमिकतामा राख्दै बस्तु विनिमय बजार सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् ।
वस्तु विनियम बजार मार्फत स्वेशनमै उत्पादन हुने धान, मकै, गहूँ, चिया लगायतका कृषि उपजलाई समेट्ने गरी वस्तु विनिमय बजार सञ्चालनमा ल्याउने तयारी सरकारले गरेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया