बजेटमा सहकारीलाई उच्च प्राथिमकता

0
Shares

अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाहकर प्रकाश श्रेष्ठले बजेटमा सहकारीले उच्च प्राथिमकता पाएको बताएका छन् ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले भर्चुअलरुपमा आयोजना गरेको ‘बजेटमा सहकारी’ विषय अन्तरक्रिया कार्यक्रममा बजेटका सम्बन्धमा धारण राख्दै श्रेष्ठले सहकारी अर्थतन्त्रको आधार स्तम्भ भएकाले सरकारले बजेटमा सहकारीलाई महत्व दिएको बताए ।

सहकारीमार्फत उत्पादन बढाउनुको विकल्प नभएको बताउँदे उनले उत्पादन, बजारीकरण रोजगारी बढाउन बजेटले सहकारीलाई स्थान दिएको बताए । देश विकास गर्न २९ हजार सहकारी पर्याप्त भएको उनको भनाई छ । १० महिनामा १२ खर्बको आयात भएको भन्दै सहकारी मार्फत उत्पादन बढाएर निर्यात घटाउन सकिने बताए ।

उनले भने, ‘कृषि उत्पादनमै ठूलोमात्रामा आयात गरिरहेका छौं । अब सहकारीले उत्पादन अभियान चलाउनुपर्छ ।’ पुँजीगत र प्रोत्साहन अनुदानले सहकारीमार्फत उत्पादन बढ्ने उनले विश्वास व्यक्त गरे । कार्यविधि बनाएर गरिबी निवारण कोषको कार्यक्रम र सहुलियत कर्जा अघि बढ्ने श्रेष्ठले बताए । ३२ हजार समूह सहकारीमा रुपान्तरण गरी १९ अर्ब रकम सहकारीमार्फत परिचालन गर्दा प्रभावकारी हुने उनको भनाइ छ ।

सहकारी विभागका उपरजिष्ट्रार सुरेन्द्रराज पौडेल सहकारीले सुकिला मुकिलाको मात्र नभई निम्न वर्गसम्म पुग्नुपर्ने बताए । जनताको बचत सिधै अरु क्षेत्रमा लगाउन नमिल्ने उनको भनाई थियो । ऐन र नियमावली अनुसारनै कर्जा सूचना केन्द्र आउने उनले बताए । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले बजेटले सहकारीका धेरै विषय समेटेको बताए । ‘बजेट नराम्रो भन्न मिल्दैन ।’ उनले भने, ‘सहकारीलाई वित्तीय पहुँच, रोजगारी सिर्जना गर्ने विषयमा ध्यान दिइएको छ ।’

डिजिटाइजेनसनमा जान बजेटमा सम्बोधन नभएपनि नियमक निकायबाट समन्वय गरेर अघि बढ्ने उनले बताए । गरिबी निवारण कोषबाट ३२ हजार समूहबाट ४ सय सकारी थपिन सक्ने उनले बताए । कर्जा सूचना केन्द्र समेट्न नसकेपनि समग्रमा बजेट राम्रो रहेको बताए । कोपोमिसमार्फत नभई नियमावली अनुसार विशिष्टीकृत ढाँचामा सूचना केन्द्र आउनुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बजेट राम्रो आएपनि कार्यान्वयन हुने प्रति शंका गरे । ‘ऋण लगानीमा अग्रिम कर नलाग्ने, सहुलियत कर्जा, अनुदान व्यवस्था राम्रो भएपनि कार्यान्वयन कसरी हुन्छ भन्ने मुख्य कुरा हो ।’ उनले भने, ‘कार्यान्वयन गर्न तीनै तह सक्रिय हुनुपर्छ ।’ सहकारी ठूलो भोलुममा उत्पादन, बजारीकरणमा जोडिन सकिने बताए । सरकार र अभियान समन्वय गरेर अघि बढ्नुपर्ने उनले बताए । ७५ मा बचत लिएर ६५ मा लगानी गर्न सकिने उनको भनाइ थियो ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल बचत सहकारीले सदस्यमार्फत लगानी गरी उत्पादन बढाउने बताए । ‘सदस्यलाई वित्तीय पहुँच र वित्तीय अवसर सिर्जना गर्ने हो’ उनले भने,‘साकोसले आफै लगानी गर्न सक्दैन ।’ अन्तर सहकारी कारोबार अघि बढ्नुपर्ने उनले बताए । बहुउद्देश्यीय सहकारी वित्तीय मापदण्डमा नपर्ने उनले दावी गरे ।

केन्द्रीय दूग्ध सहकारी संघका अध्यक्ष नारायण देवकोटाले कृषि र सहकारी मन्त्रालबाट सहकारीमार्फत उत्पादनमा जोड दिएको बताए । ‘उत्पादनसँगै बजारीकरणमा र उत्पादनको आधारमा अनुदान दिने विषय सकारात्मक छ’ उनले भने । सहकारी साझेदारीमा दूध प्रशोधन कारखाना खोल्न ३५५ अनुदान दिने कार्यक्रम सकारात्मक भएको बताए ।

केन्द्रीय कृषि बिउ सहकारी संघका अध्यक्ष विनोद पराजुलीले बजेटले सहकारीको समग्रमा उपलब्धिमूलक र समयसापेक्ष भएको बताए । कृषिलाई जोड दिएर गरिबी निवारण र आयआर्जनमा जोड दिनु सह्राहनीय भएको बताए । पराजुलीले भने ‘बजेटको प्राथमिकता भित्र सहकारी परेको छ । उत्पादन प्रोत्साहनमा आधारित सहुलियत अनुदानले उत्पादन बढाउन मद्धत मिल्छ ।’

कार्यक्रममा बोल्ने सहभागीहरुले बजेट सहकारी क्षेत्रको लागि उत्साहजनक भएको भन्दै कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखेका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १७ जेष्ठ २०७८, सोमबार  १० : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।