देशभर निषेधाज्ञा भइरहँदा अण्डाको माग धान्न मुस्किल 

0
Shares

कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा भइरहँदा अण्डाको माग धान्न मुस्किल पर्न थालेको छ । निषेधाज्ञामा घरमा बसेकाले उपयोग बढाएपछि उत्पादनले धान्न कठिन हुँदै गएको अनुमान गरिएको छ ।
 
आफ्नै उत्पादन र सङ्कलन गरेर देशैभर अण्डा बिक्री गर्दै आएको दाउन्ने ग्रुप अफ पोल्ट्रीका कार्यकारी निर्देशक विनोद पोख्रेल मागअनुसार अण्डा पु¥याउन कठिन भएको बताउछन् । दैनिक एक लाख ३८ हजार गोटा आफ्नै उत्पादन र त्यति नै सङ्ख्यामा कृषकको अण्डा सङ्कलन गरेर दाउन्नेले देशभर बिक्री गर्दै आएको छ । देशकै सबैभन्दा ठूलो सञ्जालसहितको सप्लायर्स दाउन्ने भएको जानकारी दिँदै उनले आफूले पालो मिलाएर मात्र अण्डा दिन सकेको बताए। 
 
उनले भने, “बिक्रेताले मागेकै दिनमा अण्डा दिन सक्ने अवस्था छैन ।” माग बढेकै कारण उत्पादनले पु¥याउन कठिन भएको व्यवसायी बताउँछन् । निषेधाज्ञामा घरमा रहेकाहरुले अण्डाको उपयोग बढाएको पाइएको छ । पहिलेको तुलनामा उत्पादन घटेको र माग बढेको छ । बीचका केही महिना उत्पादन निकै घटेको भए पनि अहिले बढ्दो क्रममा रहेको छ । यद्यपि पहिलेको तुलनामा पुग्न सकेको छैन ।
 
अण्डा उत्पादक कृषक मदन पोख्रेल कोरोनाको सङ्क्रमणका बेला रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागिसमेत सहयोगी हुने भएकाले उपभोग बढेको बताउछन् । उनले भने, “किराना पसल खुल्दा सबैको हातहातमा अण्डाको क्रेट देख्न सकीन्छ ।” आफूलाई विभिन्न जिल्लाबाट अण्डाको माग हुने गरेको उनको भनाइ छ । अण्डाको मूल्य पहिलेको तुलनामा बढेको भए पनि दानाको कच्चापदार्थमा भारी वृद्धिका कारण कृषक लाभान्वित हुन नसकेको उनले जानकारी दिए ।
 
वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी कोरोना सङ्क्रमणको समयमा शरीरमा चाहिने पोषणको पूर्ण मात्रा (कम्प्लिट प्याकेज) अण्डामा पाइने बताउछन्। एशियाका देशमा खाने खानामा कार्बोहाइडेट बढी हुने भन्दै उनले अण्डामा कम हुने र प्रोटिनको राम्रो स्रोत भएकाले यसको खपत बढेको हुन सक्ने बताए । शरीरले नबनाउने र बाहिरबाट लिनुपर्ने आवश्यक एमिनो एसिडको नौवटै तत्व अण्डामा पाइने भरतपुर अस्पतालका अध्यक्षसमेत रहेका अधिकारीले जानकारी दिए । उनले भने, “रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि अण्डा उपयुक्त हुन्छ ।”
 
कृषकको भनाइमा हाल दैनिक २८ लाख हाराहारी अण्डा उत्पादन हुन्छ । यो सङ्ख्या घटेर २४ लाखमा झरेको थियो । पहिले बढेको समयमा ३५ लाख पुगेको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ ।
 
सङ्घका अध्यक्ष शिवराम केसीले पानी परेर गर्मी घटेपछि अण्डा बढेको जानकारी दिए । घरमा बसेकाहरुले सुरक्षित पौष्टिक आहारका रुपमा अण्डालाई लिएको उनको भनाइ छ । निषेधाज्ञामा देशभर अण्डा रोकटोक नभएकाले सबैले अण्डा पाउन सकेका छन् । उनले भने, “अण्डाको पौष्टिक तत्वका बारेमा बुझ्ने, नबुझ्ने सबैले खाएका छन् ।” होटेल, रेष्टुरेन्ट नखुल्दा र भोजभतेर नहुँदासमेत खपत राम्रो भएको केसी बताए । पहिले बाहिर खानेले अहिले घरमा खाइरहेको उनको भनाइ छ ।
 
माग बढेसँगै मूल्यमा पनि वृद्धि भएको छ । हाल फार्ममा प्रतिक्रेट (३० वटा) ठूलो अण्डाको मूल्य रु ३७० पर्दछ । मध्यमको मूल्य रु ३५५ रहेको छ । देशभरमा लेयर्स कुखुरा पाल्ने कृषकको सङ्ख्या दुई हजार ८०० हाराहारीमा छन् । उनीहरुबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ७५ हजार हाराहारीले रोजगारी पाएको केसी बताउछन् । नेपालमा पोल्ट्री क्षेत्रमा एक खर्ब ५० अर्ब हाराहारी लगानी भएको भन्दै उलेन त्यसको २५ प्रतिशत लेयर्स फार्मिङमा भएको जानकारी दिए ।
 
नेपाल कुखुराजन्य पदार्थमा आत्मनिभर रहेको छ । साना किसानदेखि एउटै व्यावसायिक समूहले दुई लाखसम्म कुखुरा पालेको केसीले बताए ।
 
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७८, सोमबार  १५ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।