एनसेल र धुलिखेल हस्पिटलबीच टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स्का लागि सम्झौता

0
Shares

एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल हस्पिटल– काठमाडौ युनिर्भसिटी हस्पिटलसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स् कार्यक्रम संचालन गर्नका लागि सम्झौता गरेको छ ।

प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने यस कार्यक्रमको उदेश्य हो । एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्ग र धुलिखेल हस्पिटलका निर्देशक डा. रमेश मकाजुले सोमबार (श्रावण २७) एक कार्यक्रम माझ टेलिमेडिसिन र हेल्थकेयर इन्फर्मेटिक्स् कार्यक्रम संचालन गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

यस पहल अन्तर्गत एनसेलले टेलिमेडिसिन उपकरण र सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पुर्वाधार निर्माण गरी धुलिखेल हस्पिटललाई हस्तान्तरण गर्नेछ । यसका साथै दुई वर्षका लागि यो कार्यक्रमको संचालन गर्न आवश्यक पर्ने अन्य स्थानिय आपुर्ति र सेवाहरु खरिदका लागि एनसेलले आर्थिक सहायता पनि धुलिखेल हस्पिटललाई प्रदान गर्नेछ ।

धुलिखेल हस्पिटलका तर्फबाट मानव संसाधन जस्तै चिकित्सक र परामर्शदाता लगायत कार्यक्रम संचालनका लागि आवश्यक अन्य सहयोगहरु प्रदान हुनेछ । हस्पिटलले कार्यक्रमलाई सफलता पुर्वक संचालन गर्न आवधिक ट्रेनिङ्गहरु र अनुगमन लगायतका कामहरु पनि गर्नेछ ।

साथै धुलिखेल हस्पिटलमा ‘एनसेल, धुलिखेल हस्पिटल–काठमाडौं युनिभर्सिटी हस्पिटल टेलिमेडिसिन एण्ड हेल्थकेयर इन्फर्मेटिक्स् सेन्टर’ स्थापना हुनेछ । यस सेन्टरले टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स्सँग सम्बन्धित कार्यहरु तथा नवीन खोजका बारेमा निर्देश गर्नेछ ।

यो कार्यक्रम टेलिमेडिसिन र पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पिएचपी) गरी दुई क्षेत्रमा केन्द्रित भई संचालन हुनेछ । टेलिमेडिसिन अन्तर्गत कार्यक्रमले धुलिखेल हस्पिटलद्वारा संचालित आठ सामुदायिक स्वास्थ्य केन्द्रहरुबाट आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग तथा हस्पिटलका चिकित्सक तथा विज्ञहरुसंग सिधै सम्पर्क स्थापित गराई स्थानिय जन समुदायलाई दुई वर्षका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ ।

यस सहकार्यलाई पाँच वर्षको लागि निरन्तरता दिने योजना एनसेल र धुलिखेल हस्पिटल–काठमाडौ युनिभर्सिटी हस्पिटलको रहेको छ । यसका लागि दुई वर्ष पछि कार्यक्रमको मुल्याङ्कन पश्चात यो सम्झौतामा नविकरण हुनेछ । पाँच वर्ष पछि पनि दीर्घकालीन रुपमा संचालनमा रहने गरी यसको विकास गर्नु यस सहकार्यको उदेश्य रहेको छ ।