
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड (STC) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड ५२ लाख ९९ हजार ३६९ रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा २ करोड ३९ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले गत आवको तुलनामा ५.४७ प्रतिशतले नाफा बढाएको हो । अन्य सबैजसो कम्पनीहरुले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसक्दा साल्ट ट्रेडिङले भने बल्ल दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पूँजी १९ करोड २० लाख २४ हजार रुपैयाँ रहेको छ । यस आधारमा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक २६.३५ रुपैयाँ छ । जगेडा कोषमा १ अर्ब ३१ करोड ४७ लाख १९ हजार रुपैयाँ सञ्चित रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ ४१४.९० रुपैयाँ छ ।
शेयर बजारमा रहेका कम्पनीहरुमध्ये महँगो शेयरमूल्य भएका कम्पनीहरुको सूचीमा पर्ने साल्ट ट्रेडिङ्ग कर्पोरेशनको मूल्य ११ हजारभन्दा धेरै रहेको छ । मूल्य उच्च भएपनि उसको आम्दानीको तुलनामा मूल्य २६३ गुणा धेरै रहेको छ ।
कम्पनी गत आवको ६ महिनामा ४ अर्ब ७० करोड रुपैयाँ बिक्री आय गरेको कम्पनीले चालु आवको ६ महिनामा २५ प्रतिशत बढेर ५ अर्ब ८९ करोड १४ लाख ६७ हजार आम्दानी गरेपनि समग्र नाफा भने सामान्य बढेको हो ।
कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको कुल आय ५५ करोड २० लाख रहेको छ जबकी गत आवको यसै अवधिमा ५७ करोड २५ लाख थियो । कम्पनीको ब्याजखर्च अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा ३ करोड घट्दा कम्पनीको नाफा बढेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया