बेलायतीहरूले पछिल्ला केही सातायता ब्रेक्जिटपछिको सम्भावित अन्योललाई मध्यनजर गर्दै नागरिकहरूले अत्यावश्यक सामानहरूको भण्डारण गर्न थालेका एक सर्वेक्षणले देखाएको छ।
सर्वेक्षण अनुसार अक्टोबरमा बेलायत यूरोपेली संघ (इयू) बाट सम्झौताबिहीन अवस्थामा बहिर्गमन गर्ने सम्भावनापछि बेलायतीहरूले खाद्यान्न, औषधी तथा पेय पदार्थको भण्डारण गरेका छन्।
बेलायतीहरूले ब्रेक्जिटपछिको अवस्थालाई हेरेर करिब चार अर्ब ८१ करोड अमेरिकी डलर थप रकम खर्चेर सामानहरूको भण्डारण गरेका बताइएको छ। वित्तीय संस्था प्रिमियम क्रेडिटले गरेको सर्वेक्षणमा हरेक पाँच बेलायतीमध्ये एक जनाले प्रतिदिन थप ४५८ अमेरिकी डलर खर्चिने गरेका पाइएको छ।
सामान भण्डारण गर्नेमध्ये ७४ प्रतिशतले थप खाद्यान्न किनेर राखेका बताए भने ५० प्रतिशतले औषधीसमेत किनेर राखेको बताए। यस्तै ४६ प्रतिशतले पेय पदर्थको जोहो गरेको सर्भेक्षण रिपोर्टमा उल्लेख छ।
प्रधानमन्त्रीमा कडा ब्रेक्जिट पक्षधर बोरिस जोनसन निर्वाचित बनेपछि उनले इयूसँग सम्झौता भएपनि नभएपनि निर्धारित अक्टोबर ३१ मा ब्रेक्जिटको कार्यान्वयन हुने बताएका थिए।
यसपछि कैयौँ बेलायती नागरिकले यदि सम्झौताबिहीन अवस्थामा बेलायत इयू बाट बाहिरिए बेलायतमा कतिपय सामानजहरूको आपूर्तिमा कमी आउनसक्ने डर भएको बताएका छन्। बेलायतमा उपयोग हुने ५३ प्रतिशत खाद्यान्न मात्र स्वदेशमा उत्पादन हुने र बाँकी धेरै इयू सदस्य राष्ट्रहरूबाट आयत हुने गरेको सरकारी तथ्याङ्कमा उल्लेख छ।
खाद्यान्न तथा अतिआवश्यक खाद्यान्न बाहेक अन्य सामानहरूको पनि बेलायती बजारमा किनबेच बढेको छ। बेलायती कानून कम्पनी बुडल ह्याटफिल्डले भनेको छ, “बेलायतमा आरामदायी विदेशी कारको किनबेचमा पनि १६ प्रतिशतले वृद्धि आएको छ भने आरामदायी विदेशी कारको आयातमा ३२ प्रतिशतले वृद्धि देखिएको छ।”
प्रतिक्रिया