अभिकर्तालाई कर्जा चुक्ता गर्ने समय थप

0
Shares

बीमा समितिले अभिकर्तालाई बीमा कम्पनीबाट लिएको कर्जा चुक्ता गर्ने समय थप गरेको छ ।

समितिले वैशाख २ गते जीवन बीमा कम्पनीलाई परिपत्र जारी गर्दै अभिकर्ताहरूले लिएको कर्जा असार मसान्तभित्र चुक्ता गरिसक्न निर्देशन दिएको थियो ।

असार मसान्तभित्र सबै कर्जाहरु फछर्यौ गर्न अप्ठेरो हुने भन्दै कम्पनीहरुले आग्रह गरेकाले समय थप गरेको समितिले जनाएको छ ।

कम्पनीहरुले असार मसान्तभित्र कर्जा चुक्ता गर्न अप्ठेरो पर्ने भन्दै समय थप गर्न अनुरोध गरे पछि समय थप गर्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जानकारी दिए ।

अब स्वयं कम्पनीहरुले नै कर्जा चुक्ता कहिलेसम्म गरिसक्ने निर्णय गर्नुपर्ने उनले बताए ।
‘कर्जा कति समय अवधिमा फछर्यौट हुने हो उक्त अवधिमा फछर्यौट गर्ने व्यवस्था मिलाई सो को जानकारी समितिलाई पठाउनु भनेका छौं’ उनले भने ।

उनका अनुसार कम्पनीहरुले अभिकर्तालाई घर कर्जा, गाडी कर्जा लगायतका अन्य विभिन्न शिर्षकमा कर्जाहरु प्रवाह गर्दै आएका थिए । यसरी कम्पनीबाट अभितर्काका लागि विभिन्न शिर्षकमा प्रवाह हुँदै आएको नयाँ कर्जा भने वैशाख महिनादेखि समितिले रोक लगाएको उनले बताए ।

कर्जा असुल फछर्यौट गर्ने सम्बन्धमा कम्पनीहरु सँगको औपचारिक र अनौपचारिक छलफल हुँदा असार मसान्तभित्र सबै कर्जाहरु फछर्यौट गर्न अप्ठेरो हुने व्यहोरा अनुरोध भएपछि समितिले समय थप गरेको हो ।

समितिले पत्र जारी गर्दै कम्पनीबाट प्रवाह भएको नगद कर्जाहरु मध्ये कुन कर्जा कति समय अवधिमा फछर्यौट हुने हो सो अवधिमा फछर्यौट गर्ने व्यवस्था कम्पनीले मिलाई लिखित जानकारी समितिमा पेश गर्न अनुरोध गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।