सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई गाभेर एक महिनाभित्र संयुक्त कारोबार गर्ने 

0
Shares

सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेड र सिर्जना फाइनान्स लिमिटेडको आज हुने विशेष साधारण सभाले प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने भएको छ ।
 
सिटीजन्स बैकले प्रधान कार्यालयमा बिहान ९ बजे र सिर्जना फाइनान्सले केन्द्रीय कार्यालय बिराटनगरमा बिहान ९ बजे गर्ने जानकारी दिएका हुन् । सभाले सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।
 
बैंकले सिर्जना फाइनान्सको १०० कित्ता बराबर ९५ कित्ता दिने गरी शेयरमूल्य अनुपात दिने गरी प्राप्ति गर्न लागेको हो ।
 
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम बैंकले नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको फाइनान्सलाई जेठ ११ गते अन्तिम सम्झौता गरेको हो। 
 
आ–आफ्नो विशेष/साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गर्ने भएका छन्।  
 
दुवै संस्थाले गत माघ २८ गते प्राप्तिका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पश्चात सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गरी यसै आर्थिक वर्ष २०७७/०७८ भित्र संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको बैंकले जनाएको छ । 
 
२०७८ साल जेठ ९ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ३७ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई  दिएको ऋण लगानी करिव १ खर्ब २१ अर्ब रुपैयाँ हुनेछ । 
 
प्राप्ति पश्चात बैंकको कुल शाखा १८९ हुनेछ । हाल यस बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स लिमिटेडको प्राप्ति पश्चात् उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात् उक्त प्रदेशमा २७ वटा शाखाहरु हुनेछन् । बैंकले सातवटै प्रदेशमा आफ्नो दह्रो उपस्थिति बनाउँदै लगेको छ । यस प्राप्ति पछि बैंकको ग्राहक सङ्ख्या करिव १२ लाख पुग्नेछ । 
 
बैंकको संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डेको नेतृत्वमा बैंकले सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेण्ट बैंक र सिर्जना फाइनान्सको प्राप्ति अगाडी बढाएको हो । 
 
सहमति अनुसार, सिर्जना फाइनान्स लिमिटेडका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ ।  
 
प्राप्ति पश्चात बैंकको पहुँच बढ्न गई प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने र देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
 
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।