मुलुकको चालु खाता घाटा बढेर २ खर्ब ४७ अर्ब पुग्यो, शोधनान्तर स्थिति पौने ८ अर्बले बचतमा

0
Shares

चालु आर्थिक वर्ष २०७७/७८ को बैशाख मसान्तसम्ममा नेपालको चालु खाता घाटा बढेर २ खर्ब ४७ अर्ब ८ करोड पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ को दश महिना अवधिमा चालु खाता ९६ अर्ब १८ करोडले घाटामा रहेकोमा समीक्षा अवधिमा १ खर्ब ५१ अर्ब रुपैयाँले थप बढेको हो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोड ५९ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २४ करोडले बढेर २ अर्ब ११ करोड घाटामा पुगेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ११.५ प्रतिशतले वृद्धि भई १३ अर्ब ९२ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १९.२ प्रतिशतले कमी आई १४ अर्ब ८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ४२ करोड रहेको थियो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार २०७८ बैशाख मसान्तसम्ममा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोडले बचतमा रहेको थियो । गत आवको यसै अवधिको तुलनामा शोधनान्तर बचतको स्थिति १ खर्ब १३ अर्बले घटेको हो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५ करोड ५४ लाखले बचतमा रहेको छ ।

२०७७ असार मसान्तमा १४ खर्ब ०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेकोमा चालु आवको दश महिना अवधिमा ०.८ प्रतिशतले कमी आई २०७८ बैशाख मसान्तमा १३ खर्ब ९० अर्ब ८४ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७८ बैशाख मसान्तमा १.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ८७ करोड पुगेको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७८ बैशाख मसान्तमा ०.५ प्रतिशतले कमी आई १२ खर्ब १९ अर्ब ८१ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १ खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७८ बैशाख मसान्तमा २.७ प्रतिशतले कमी आई १ खर्ब ७१ अर्ब ३ करोड कायम भएको छ २०७८ बैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको छ ।

  • विदेशी विनिमय सञ्चितिले ११ महिनाको बस्तु तथा सेवाको आयात धान्ने

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले थप ११.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०७८ बैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२.६ प्रतिशत, ८५.९ प्रतिशत र २८.५ प्रतिशत रहेका छन् । २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए । दश महिनाको अवधिमा सबै अनुपातहरु खुम्चिएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ३१ जेष्ठ २०७८, सोमबार  १९ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।