चालु आर्थिक वर्षको दश महिना अर्थात २०७८ बैशाख मसान्तसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँंजीकरणको हिस्सा ६८.३० प्रतिशत रहेको छ ।
बैंक तथा वित्तीय क्षेत्रको कुल बजार पूँजीकरणमा करिब १२ प्रतिशत बिन्दुले हिस्सा घटेसँगै शेयरमूल्य घट्दा नेप्से घट्ने र यस क्षेत्रको शेयरमूल्य बढ्दा नेप्से बढ्ने प्रवृत्तिमा पहिलेको तुलनामा कमी आएको छ ।
बैंक वित्तीय संस्थाहरु बाहेक बाँकी क्षेत्रको हिस्सा २०७७ बैशाख मसान्तमा १९.९० मा रहेकोमा २०७८ बैशाख मसान्तसम्ममा बढेर ३१.७० प्रतिशत हिस्सा पुग्दा बैंक तथा वित्तीय क्षेत्रको एकक्षत्र दबदबा कम हुन मदत्त पुगेको हो ।
पछिल्लो समय बैंक वित्तीय संस्थाहरुभन्दा बाहेकका कम्पनीहरुको शेयरमूल्यमा भएको वृद्धिले बजारले नयनन् नयाँ रेकर्ड कायम गर्दै नेप्से ३ हजार बिन्दुमाथि पुगेर रेकर्ड कायम भएको छ भने एकैदिन १९ अर्ब ५५ करोड बढीको शेयर करोबार भएको अवस्था छ ।
त्यसैगरी २०७८ बैशाख मसान्तसम्ममा जलविद्युत कम्पनीको हिस्सा ८.४० प्रतिशत, लगानी कम्पनीको ७.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९० प्रतिशत, होटेलको हिस्सा १.४० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.६० प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.६ प्रतिशत रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
अघिल्लो आवको यसै अवधिमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँंजीकरणको हिस्सा ८०.१० प्रतिशत रहेको थियो। त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ५.९ प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ३.८० प्रतिशत, होटेलको हिस्सा १.३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३० प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ८.६ प्रतिशत रहेको थियो ।
२०७७ बैशाखको तुलनामा २०७८ बैशाख मसान्तसमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँंजीकरणको हिस्सामा ११.८० प्रतिशत घटेको छ भने जलविद्युत कम्पनीको हिस्सा २.५०, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ०.१० प्रतिशत, होटेलको हिस्सा ०.१०, व्यापारिक संस्थाको हिस्सा ०.३० प्रतिशत बढेको छ । यस अवधिमा नयाँ समुह लगानी कम्पनी निमार्ण भएको छ ।
नेपाल राष्ट्र बैंकले केही दिनअघि सार्वजनिक गरेको तथ्याङ्क अनुसार बैशाख मसान्तसम्ममा सूचीकृत कम्पनीहरूको संख्या २२० पुगेको छ । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेकोमा चालु आवको दश महिनामा आठ सूचीकृत कम्पनीको संख्या वृद्धि भएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको तथ्याङ्क अनुसार सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । त्यस्तै ४० जलविद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ४ व्यापारिक संस्था, ४ लगानी कम्पनी र ३ वटा अन्य समूहका रहेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया