नेपाल उद्योग परिसंघले नेपाल धितोपत्र बोर्डले लगानीका लागि जोखिमयुक्त भन्दै ५१ सूचीकृत कम्पनीको सूची सार्वजनिक गरेपछि लगानीकर्ताको मनोबल घट्न गइ समग्र पूँजी बजारमा नकारात्मक सन्देश प्रवाह भएको जनाएको छ ।
बिहीबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले अर्थमन्त्री समक्ष संवेदनशील विषयमा नियमनकारी निकायले परिपक्व भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन् ।
आगामी आर्थिक वर्षमा लक्ष्यअनुसार ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने गरी आर्थिक क्रियाकलाप चलायमान बनाउन परिसंघले सरकार समक्ष आग्रह गरेको छ ।
अध्यक्ष मोरले बजेटमा उल्लेखित धेरै विषय तत्काल कार्यान्वयनका लागि मौद्रिक नीतिमार्फत व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ मार्फत् प्रत्येक निर्णय ७ देखि १५ दिनमा गरिसक्ने व्यवस्था गरेको भन्दै अध्यक्ष मोरले सरकारले पनि प्रत्येक मन्त्रालयका काम यसरी सम्पन्न गर्ने गरी समय तोक्नुपर्ने बताए । सरकारी निकायका निर्णय प्रक्रिया छिटो र छरितो भए त्यसले सेवा प्रवाहमा सहजता ल्याउने उनको भनाई थियो ।
भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले सरकारले बजेट कार्यान्वयनलाई आफ्नो परीक्षको रूपमा लिएको उल्लेख गर्दै निजी क्षेत्रलाई साथमा लिएर कार्यान्वयन अघि बढाउने बताए । असारभर तयारीका काम सक्ने र साउन १ गतेबाट बजेट कार्यान्वयनमा लैजाने गरी काम गरिरहेको उनको भनाई थियो ।
मन्त्री पौडेलले अमेरिका, चीन, भारत लगायतका देशबाट कोरोनाको भ्याक्सिन खरिद गरी सबै नागरिकलाई उपलब्ध गराउन सरकार लागि परेको बताए ।
छलफलमा परिसंघका बरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र महानिर्देशक यादवप्रसाद पौड्याल समेतको उपस्थिति थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया