नेप्से २ प्रतिशत धेरैले घट्यो, विकास बैंक जलविद्युत र फाइनान्सका लगानीकर्ताले धेरै गुमाए

0
Shares

साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार सूचक मापक नेप्से २.१३ प्रतिशत अर्थात ६३.२८ अंकले घटेको छ । नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीलाई जोखिमयुक्त भन्दै सूची सार्वजनिकसँगै घट्न थालेको नेप्सेमा आइतबार उच्च गिरावट आएका छ ।

आइतबार नेप्से ६३.२९ अंकले घटेर १९०५.१४ बिन्दुमा झरेको हो । ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि १२.६१ अंकले घटेर ५२८.५१ बिन्दुमा कारोबार बन्द भएको छ ।

कारोबारमा आएका १३ वटै समुहका सूचक राताम्मे बनेसँगै नेप्सेमा उच्च अंकको गिरावट देखिएको हो । असार १ गते साँझ बोर्डको विज्ञप्तीपछि बजार २ गते र ३ गते क्रमश ५२.४० र १.२९ अंकले ओरालो लागेको थियो ।

आइतबार सहित बोर्डको एक्सनले बजारमा पछिल्लो तीन कारोबार दिनमा मात्रै ११७ अंकको गिरावट देखिएको छ । छोटो समयमा नै बजार उच्च अंकले घटेकाले सोमबारदेखि लाभांश क्षमता राम्रा भर्ई शेयरमूल्य घटेका कम्पनीहरुमा उच्च खरीद चाप आउने आंकलन गरिएको छ ।

असार १ गते मंगलबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको सूची सहित शेयर मूल्य चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट सार्वजनिक गरेको थियो । बोर्डको कदमले सूचकका साथै दिनप्रतिदिन कारोबार रकम पनि घटेको छ ।

आज कूल २३१ कम्पनीको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर १ लाख २८ हजार २८१ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८९ रुपैयाँ पुगेको छ ।

कारोबारमा आएका १३ वटा समूहमा विकास बैंक, जलविद्युत र फाइनान्स समूहको सूचक ३ प्रतिशत धेरैले घटेको छ । यसैगरी ब्यापार, होटल, उत्पादन, अन्य, लघुवित्त र लगानी गरी ६ वटाको सूचक पनि २ प्रतिशत धेरैले घटेको छ ।

नेपाल पूनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

आइतबार नेपाल पूनर्बीमा कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८० करोड २९ लाखको शेयर खरीद बिक्री भएको छ ।

यसैगरी नेपाल इन्स्योरेन्स ४३ करोड, नेशनल हाइड्रोपावर ३३ करोड, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड २८ करोड र हिमालयन डिष्टीलरीको साढे २४ करोडको शेयर कारोबारमा आउको छ ।

यसैगरी लुम्बिनी विकास बैंक लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, अपर तामाकोशी, ज्योति विकास बैंक लिमिटेड र अपि पावर कम्पनीको पनि शीर्ष दश ठूलो कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको अपि पावरको १९ करोड २६ लाखको शेयर कारोबार भएको छ ।

गोर्खाज फाइनान्सका लगानीकर्ताले कमाए

आइतबार सर्वाधिक नाफा कमाउने कम्पनीहरूको सूचीमा गोर्खाज फाइनान्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । फाइनान्सको शेयरमा लगानी गरेकाले ८ प्रतिशत धेरैले कमाएका छन् । यसैगरी कुमारी बैंक लिमिटेडको संस्थापक शेयरमूल्य पनि ८ प्रतिशत धेरैले बढेर कारोबार भएको छ ।

यसैगरी नेशनल हाइड्रोपावर, रूरू जलविद्युत परियोजना, तारागाउँ रिजेन्सी होटल र एनआईसी एशिया डिबेञ्चर ८२/८३ को मूल्य २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

युनियन हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट

आइतबार युनियन हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य ९.८१ प्रतिशतले घटेर ३८६ रुपैयाँमा झरेको हो ।

यसैगरी सिइडिबी हाइड्रोपावरको मूल्य ८ प्रतिशत तथा खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, श्री इन्भेष्मेन्ट फाइनान्स, नेपाल हाइड्रो डेभलपर्सको मूल्य ७ प्रतिशतले घटेको छ ।

गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, गुडविल फाइनान्स, समृद्धि फाइनान्स र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले पनि साढे ६ प्रतिशत धेरैले आइतबारको बजारबाट गुमाएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ असार २०७८, आइतबार  १५ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।