टेलिकमको नाफा ७ अर्ब २७ करोडले घट्यो, लाइसेन्स शुल्क चार अर्ब भुक्तानी

0
Shares

नेपाल टेलिकमको नाफामा भारी गिरावट आएको छ । गत आर्थिक वर्षमा टेलिकमको नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा ७ अर्ब २७ करोडले अर्थात ४१.६१ प्रतिशतको गिरावट आएको छ ।

गत आर्थिक वर्षमा टेलिकमले १० अर्ब २० करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा टेलिकमले १७ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ नाफा गरेको थियो ।

सञ्चालन आम्दानीमा गिरावट आउनुका साथै सरकारलाई अनुमतिपत्र (लाइसेन्स) शुल्क बुझाउँदा नाफामा भारी गिरावट आएको टेलिकमले जनाएको छ । यसै वर्ष चार अर्ब दुई करोड रुपैयाँ लाइसेन्स शुल्क भुक्तानी गरेको छ।

गत वर्ष टेलिकमले कुल ४३ अर्ब ४८ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष टेलिकमको कुल आम्दानी ४५ अर्ब ४६ करोड ४५ लाख रुपैयाँ थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा दुरसञ्चार सेवा मार्फतको आम्दानी दुई अर्ब ७३ करोडले घटेको छ। कम्पनीले यस्तो सेवामार्फत ३६ अर्ब ७८ करोड रुपैयाँ आम्दानी गरेको छ। अन्य आम्दानी भने ७.२३ प्रतिशतले बढेर ६ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको छ।

आम्दानीमा गिरावट आईरहदा प्रशासनिक खर्च भने ११ प्रतिशतले बढेको छ। गत वर्षमा यस्तो खर्च एक अर्ब ५० करोड रुपैयाँ छ। कम्पनीको कुल खर्च २४ अर्ब ६५ करोडबाट २८ अर्ब २२ करोड रुपैया पुगेको छ।

कम्पनीको चुक्ता पूँजी १५ अर्ब रुपयाँ छ भने जगेडा कोषमा ८६ अर्ब ७३ करोड रुपैयाँ जम्मा भएको छ। नाफा खुम्चिएपछि टेलिकमको प्रतिशेयर आम्दानी ६८ रुपैयाँमा झरेको छ । मूल्य आम्दानी अनुपात ६ गुणाबाट ११ गुणामा उक्लिएको छ । उसको प्रतिशेयर नेटवर्थ ६ सय ६८ रुपैयाँ छ ।