एनआईबिएल क्यापिटल बन्यो खुलामुखी म्युचुअल फण्ड सञ्चालन गर्ने पहिलो


पहिलो पटक एनआईबिएल क्यापिटलले खुलामुखी (ओपन इन्डेड) म्युचुअल फण्ड सञ्चालन गर्ने भएको छ । धितोपत्र बोर्डले क्यापिटलको एनआईबिएल सहभागिता फण्डलाई अनुमति दिए पछि एनआईबिएलले इतिहास बनाउने भएको हो ।

नेपाल धितोपत्र बोर्डले बैशाख ९ गते सोमबार एनआईबिएल सहभागिता फण्डलाई पाँच करोड इकाई निष्काशन गर्न अनुमति दिएको हो ।
योसँगै एनआईबिएल क्यापिटल नयाँ कामको सुरुवात गर्न पाएकोमा खुसी बनेको छ । नोटबजारसँग कुरा गर्दै क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाले लगानीकर्ताले नयाँ अनुभव बटुल्न पाउने बताए । निरन्तर चलिरहने फण्डबाट लगानीकर्ताले निश्चित समयमा बन्द हुने फण्डकोभन्दा धेरै लाभ लिन सक्ने नोटबाजरलाई बताए ।

बोर्डले एनआईबिएल म्युचुअल फण्डलाई प्रतिईकाई दश रुपैयाँमा पाँच करोड इकाई निष्काशनको अनुमति दिएको हो । कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंक तथा योजना व्यवस्थापक एनआईबिएल क्यापिटल मार्केट रहने छन् ।

खुलामुखी म्युुचुुअल फण्डमा यसको इकाई, लगानी वा समयको कुनै सीमा हुँदैन । हाल सञ्चालनमा रहेको बन्दमुखी फण्डको जस्तो परिपक्व हुने कुनै निश्चित अवधि तोकिएको हुँदैन । कुनै पनि समयमा लगानीकर्ताले सम्बन्धित स्किमको इकाई किन्न वा बेच्न सक्ने सुविधा खुलामुखी म्युुचुुअल फण्डमा हुन्छ । यस्तोे फण्डमा अहिले प्रचलनमा रहेजस्तो इकाई निष्काशनको समय वा दोश्रो बजारबाट मात्र लगानी गर्नुपर्ने बाध्यता रहँदैन ।