अपर तामाकोशी हाइड्रोपावरको शेयरमा दोस्रो दिनपनि सकारात्मक सर्किट

0
Shares

अपर तामाकोशी हाइड्रोपावरको शेयरमा दोस्रो दिनपनि सकारात्मक सर्किट लागेको छ । आइतबार कम्पनीको शेयरमूल्य ९.९३ प्रतिशतले बढेको हो । यसअघि बिहीबार पनि कम्पनीको शेयरमूल्य ९.८८ प्रतिशतले बढेको थियो ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाइएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले दश वर्षपश्चात निर्माण सकेर सफल परीक्षण उत्पादन थालेसँगै दोस्रो बजारमा कम्पनीको मूल्यमा लागातार सकारात्मक सर्किट लागेर बढेको हो ।

आयोजनाको उत्पादित भएको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न आइतबारदेखि (असार १३ गतेदेखि १९ गते) शनिबारसम्म खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द गरेर जोड्न लागिएको छ । नेपाल विद्युत्त प्राधिकरणले एक सूचना जारी गर्दै सो जानकारी दिएको छ ।

तामाकोशीको बिजुली न्यू खिम्ती सबस्टेसनमा जोडिँदै, असारभित्रै १५२ मेगावाट उत्पादन हुने

कम्पनीको परीक्षण उत्पादन गर्ने काम सफल भएसँगै प्रतिकित्ता ६८० रुपैयाँसम्म झरेको मूल्य आइतबारसम्म १३९ रुपैयाँ बढेर ८१९ मा पुगेको छ । आइतबार मात्रै कम्पनीके मूल्य ७४ रुपैयाँले बढेको हो । गत बिहीबार दिउँसोदेखि नै कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्न थालेको थियो । जुन आइतबार पनि कायमै छ ।

आइतबार कारोबार खुलेको पाँच मिनेटमा नै अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो । दिनभर कम्पनीको शेयरमा माग उच्च रहँदा बिक्रेताभन्दा खरीदकर्ता निकै धेरै रहे ।

कम्पनीको शेयरमा कम्पनीको शेयर सर्किट मूल्यमा नै करिब ५ लाख कित्ता माग रहँदै आइतबार कारोबार बन्द भएको छ । आइतबार कम्पनीको ४३ हजार ४६७ कित्ता शेयर ३ करोड ५४ लाख ८३ हजार ३२५ रुपैयाँमा कारोबार भएको छ ।

यसअघि बिहीबार कम्पनीको ४ लाख ९५१ कित्ता शेयर २८ करोड ९२ लाख १३ हजार ४८३ रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा निकै कम मात्र शेयर कारोबारमा आउकाले कम्पनीको शेयरमूल्य अझै बढ्ने देखिएको छ ।

कुल ४५६ मेगावाट विद्युत् उत्पादन क्षमता भएको माथिल्लो तामाकोशीले आगामी साता पहिलो युनिटबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान गर्दैछ । आयोजनाले शुरुमा ६ वटा युनिटमध्ये असारभित्रै २ वटा युनिटबाट ७६ मेगावाटका दरले १५२ मेगावाट प्रसारण लाइनमा जोडिँदैछ । सोही कारण कम्पनीको शेयरमूल्य बढेर उच्च माग देखिएको हो ।

आयोजना निर्माण शुरु हुँदा ब्याज सहित ५१ अर्बमा सकाउने लक्ष्य राखिएपछि समयावधि बढ्दा आयोजनाको लागत बढेर ८० अर्ब हारहारीमा पुगेको छ । प्राकृतिक विपत्ति २०७२ को महाभुकम्प, अमेरिकी डलरमा आएको उतारचढाव, कोभिड-१९ तथा अनेकन समस्याले गर्दा आयोजनाको लागत उल्लेख्य बढेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ असार २०७८, आइतबार  १७ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।