भान्सामा ग्यासको सट्टा बिजुली प्रयोग गर्न विद्युत प्राधिकरणको आह्वान

0
Shares

नेपाल विद्युत प्राधिकरणले अहिले मनग्गे बिजुली रहेको र उत्पादन बढ्न थालेको भन्दै उपभोक्तालाई घरायसी प्रयोजनमा विद्युत खपत बढाउन आह्वान गरेको छ। प्राधिकरणले उपभोक्तालाई विद्युतीय सवारीसाधन प्रयोग गर्न समेत आग्रह गरेको छ।

तर वर्ष भरी बिजुली उत्पादन र आपूर्ति एकैनास नहुने जोखिम कायमै रहेकोले उपभोक्ताहरू सहजै एलपी ग्यास छोडेर विद्युतीय उपकरणतर्फ आकर्षित हुने अवस्था नरहेको जानकारहरू बताउँछन्।

प्राधिकरणका अनुसार अहिले देशभर १३ सय मेगावाट बिजुलीको माग छ। त्यसै अनुसार आपूर्ति भइरहेकोले विद्युत कटौती अर्थात लोडसेडीङ हुने अवस्था छैन।

तर यी सबै बिजुली नेपाल भित्रै उत्पादन भएको भने होइन। ६३ प्रतिशत बिजुली प्राधिकरण र निजी क्षेत्रका आयोजनाले उत्पादन गरेका हुन् भने बाँकी ३७ प्रतिशत बिजुली भारतबाट आयात गरिएको हो।

निगमका अनुसार गाडीमा प्रयोग गरिने पेट्रोल र डिजल मात्र होइन, भान्सामा प्रयोग हुने एलपी ग्यासको आयात पनि बढ्दो छ।

गत आर्थिक वर्षमा करिब तीन करोड २० लाख सिलिन्डर भर्न पुग्ने चार लाख २९ हजार मेट्रिक टन ‌एलपी ग्यास आयात भएको थियो।