सुनको मूल्य प्रतितोला ५०० ले घट्यो


लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ । शनिबार प्रतितोला ७१ हजार ५०० रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ५०० रुपैयाँले घटेर ७१ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुनको मूल्य पनि सामान्य घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेर ७० हजार ७०० रुपैयाँ कायम भएको छ । शनिबार तेजाबी सुन प्रतितोला ७१ हजार २०० रुपैयाँमा कारोवार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि केही ओरालो लागेको छ । शनिबार प्रतितोला ८४० रुपैयँमा कारोवार भएको चाँदीको मूल्य आज प्रतितोला ८३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । पछिल्लो एक महीनाको अवधिमा सुन र चाँदीको मूल्य निकै आकाशिएको छ । साउन महीनामा मात्रै सुनको मूल्य प्रतितोला छ हजार रुपेयाँसम्मले बढेको थियो ।

यो वर्ष सुनको मूल्य अहिलेसम्मकै उच्च ७१ हजार ५०० रुपैयाँमा खरीद बिक्री भएको थियो । चीन–अमेरिका व्यापार टवराव, अमेरिका–इरान तनावलगायत कारणबाट विश्व बजारमा सुनको मूल्य उकालो लाग्दै गएको हो । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस एक हजार ५१८ डलर नाघेको छ ।