
नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २.२ रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर १२९ कायम भएको छ । यस्तै, डिजल र मट्टितेल प्रतिलिटर ११२ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरी ८४ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १९ अमेरिकी डलरले वृद्धि गरी ७५४ प्रतिकिलोलिटर कायम गरिएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य पनि २५ रुपैयाँले बढाएर १४२५ रुपैयाँ खुद्रा मूल्य कायम गरिएको निगमले जनाएको छ ।
मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ७.४५ रुपैयाँ, डिजलमा प्रतिलिटर ४.३५ रुपैयाँ तथा एलपी गयासमा प्रतिसिलण्डर ३१९.३२ रुपैयाँ घाटा रहेको छ ।
अर्धमासिक रुपमा करिब ९१ करोड ३५ लाख घाटा नै रहने र सो घाटा रकम मूल्य स्थिरिकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिनेछ ।
मूल्य समायोजनपश्चात् पनि भारतीय सीमा रक्सौलसँग जाडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल लिटरमा ३६.६९ रुपैयाँ र डिजल प्रति लिटर ४३.४४ रुपैयाँ नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ ।
निगमले यसअघि यही असार ९ गते पनि पेट्रोलियम पदार्थमा लिटरको २ रुपैयाँ मूल्य वृद्धि गरेको थियो । इण्डियन आयल कर्पोरेशनले असार १७ गते पठाएको मूल्यसूची अनुसार नै आज मूल्य समायोजन गरिएको जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया