काठमाडौं महानगरपालिकाले स्वास्थ्य बीमाको ५०% प्रिमियम ब्यहोर्ने

0
Shares

काठमाडौं महानगरपालिकाले स्वास्थ्य बीमा वापतको प्रिमियम ब्यहोर्ने भएको छ ।

सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा महानगरले आगामी आर्थिक वर्षदेखि महानगरपालिका बासीको ५० प्रतिशत बीमाशुल्क व्यहोर्ने भएको हो ।


महानगरपालिकाले आगामी आर्थिक वर्षमा महानगरबासीका लागि नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा ५० प्रतिशत बीमाशुल्क व्यहोर्न गरी बजेट विनियोजन गरेको हो ।

काठमाडौं महानगरको आर्थिक वर्ष २०७८/०७९ को बजेट सर्वसम्मतिमा पास भएको भएको छ ।

नगरसभाको नवौँ अधिवेशनको छैठौँ बैठकले १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रूपैयाँको बजेट पारित गरेको हो ।

स्वास्थ्य बीमा बोर्डले पाँच जनाको परिवारलाई एउटा युनिट मानेको छ  । यस कार्यक्रम अन्तर्गत एउटा परिवारले ३ हजार ५०० रुपैयाँमा १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउनेछन् । परिवारमा ५ जनाभन्दा बढी सदस्य भए थप एकजना बराबर ७०० रुपैयाँ थप गर्नुपर्ने हुन्छ  ।

सरकारले स्वास्थ्य स्वयंसेवीका, ज्येष्ठ नागरिक र विपन्न वर्गलाई १ लाख रुपैयाँ बराबरको निःशुल्क बीमाको व्यवस्था गरेको छ  । उपचार सुविधाका लागि बोर्डले विभिन्न स्वास्थ्य चौकी र सरकारी अस्पतालसँग सम्झौता गरेको छ  ।

बीमितले उपचार सेवा उपभोग गर्नका लागि बोर्डले सम्झौता गरेको स्वास्थ्य चौकी वा तोकिएको अस्पताल जानुपर्ने हुन्छ ।

सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम देशका ७५ जिल्लामा विस्तार भएको छ । दुई जिल्ला काठमाडौँ र ललितपुरमा भने कार्यक्रम विस्तार गर्न बाँकी छ ।

सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले कैलाली, इलाम र बागलुङसहित तीन जिल्लाबाट सो कार्यक्रम शुरु गरेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।