
बीमा क्षेत्रमा सम्पत्ती शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी विरुद्धको सफ्टवेयर गोएएमएल अनिवार्य रुपमा लागू हुने भएको छ ।
समितिले साउन महिनाभित्रमा सबै बीमा कम्पनीमा उक्त सफ्टवेयर अनिवार्य रुपमा लागू गर्ने भएको हो । यस अघि नमुना परीक्षणका रुपमा पाँचवटा जीवन बीमा कम्पनीहरुमा लागू गर्न शुरु गरिएको गोएएमएल साउन महिना भित्रमा सबै कम्पनीमा लागू गरिने भएको हो ।
समितिले आइतबार सबै बीमा कम्पनीहरुका लागि गोएएमएल सञ्चालन सम्बन्धी सैद्धान्तिक एवं व्यवहारिक जानकारी दिन सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी विवरण सम्बन्धमा बीमा क्षेत्रमा गोएमएल सफ्टवेयरबाट रिपोटिङ् गर्ने विषयमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुले एकल बीमालेख अन्र्तगत पहिलो प्रिमियम वापत एकै पटक ठूलो रकम लिएर बीमा गर्ने र बीमितले आठ दश महिनाभित्रै सरेण्डर गरेर ठूलो रकम निकाल्ने प्रवृत्ति शङ्कास्पद हुने भएकाले त्यसका बारेमा शुरुमै नेपाल राष्ट्र बैंकस्थित वित्तीय जानकारी इकाईलाई जानकारी गराउन बीमा कम्पनीलाई निर्देशन दिए ।
बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण र शंकास्पद लगानी हुन नदिनका लागि बीमा कम्पनीहरुलाई बारम्बार पत्राचार र निर्देशन दिएको उल्लेख गर्दै विगतका कमी कमजोरीहरुलाई सच्चाएर बीमा क्षेत्रले सम्पत्ति शुद्धीकरण र शंकास्पद लगानी विवरणका लागि सदैव चनाखो र सजग हुन समेत कम्पनीलाई उनले आग्रह गरे ।
कम्पनीहरुमा बीमा गर्नको लागि एकैपटक ठूलो रकम आएमा त्यसको स्रोत के हो ? र कहाँ बाट आयो भन्ने जानकारी लिएर सफ्टवेयर मार्फत राष्ट्र बैंकको इकाईलाई जानकारी गराउनुपर्ने र त्यसो नगरेमा बीमा कम्पनीलाई बीमा ऐनको ब्यवस्था र सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धि कानुन बमोजिम कारवाही हुने उनले बताए ।
कार्यक्रममा बीमा समिति, कम्पाीहरुका सम्पत्ति शुद्धीकरण निवारण विभागका पदाधिकारी एवं कर्मचारीको सहभागीता रहेको समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजु रमण पौडेलले जानकारी दिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया