प्रभावकारी बैंकिङ सेवा प्रदान गर्न सभामुखको आग्रह

0
Shares

सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारमा रहेका सबै कार्यालयको सरकारी खाता राष्ट्रिय वाणिज्य बैंकमा सञ्चालन गर्ने सन्दर्भमा बैंकका प्रमुख कार्यकारी अधिकृत लगायत अधिकारीसँग छलफल गरेका छन् ।

सभामुखको कार्यकक्षमा आयोजित छलफलमा खाता सञ्चालनलाई व्यवस्थित गरी सेवा प्रवाह गुणस्तरीय बनाउन बैंकका प्रमुख कार्यकारी अधिकृतलाई आग्रह गरे ।

सभामुखले लामो समयदेखिको प्रयास स्वरूप सरकारी स्वामित्वको बैंक मार्फत व्यवस्थित गर्न पाउनु अवसर रहेको र यो अवसरमा बैंकले आफ्नो सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाई गुणस्तरीय बनाउन जनशक्ति र प्रविधिको व्यवस्थापन गरी विश्वास जित्नुपर्ने बताए ।

छलफलमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले देशभर सात वटै प्रदेश ७७ जिल्लामा २७४ शाखा सञ्चालन भइरहेको, दुई खर्ब ५० अर्बभन्दा बढी निक्षेप र एक खर्ब ८० अर्बभन्दा बढी लगानी रहेको अग्रणी बैंक भएको जानकारी दिए ।

उनले बैंकिङ सेवाका सबै सेवा बैंकले प्रदान गरी रहेको र सरकारको निर्णयलाई अवसरका रूपमा लिई बैंकले कार्ययोजना बनाई आवश्यक जनशक्ति र प्रविधिको व्यवस्थापन गरी अन्य बैंकभन्दा राम्रो सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।