तनहुँमा दुई अर्ब ७० करोड उद्योगमा लगानी, उद्योग दर्ता घटे पनि लगानी भने बढ्यो

0
Shares

तनहुँ जिल्लामा स्थापित उद्योगमा लगानी बढेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा दर्ता भएका उद्योगमा दुई अर्ब ७० करोड ९० लाख लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जनाएको छ । सो अवधिमा दुई हजार एक उद्योग दर्ता भएका छन् ।

गत आर्थिक वर्षमा जिल्लामा तीन हजार ५१५ उद्योग थपिएका थिए । ती उद्योगमा एक अर्ब ८९ करोड ५२ लाख ६० हजार ६५९ लगानी भएको थियो । आव २०७६/७७ भन्दा आव २०७७/७८ मा उद्योग दर्ता सङ्ख्या घटे पनि लगानी भने वृद्धि भएको कार्यालयका प्रमुख नारायण ढकालले जानकारी दिए ।

एक वर्षको अवधिमा जिल्लामा कृषि तथा वनजन्य उद्योग सबैभन्दा बढी दर्ता भएको छ । कृषि तथा वनजन्यतर्फ एक हजार २१९ उद्योग दर्ता भएका छन् । गत वर्ष कृषि तथा वनजन्यतर्फ ६०० मात्रै उद्योग दर्ता भएका थिए ।

कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको उनले बताए । “कोरोना कहरका कारण वैदेशिक रोजगारीबाट फर्किएका युवाले गाउँमै उद्यम शुरु गरेका छन्”, उनले भने ।

कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन, तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ । यसैगरी उत्पादनमूलकतर्फ १२९, निर्माणतर्फ १९, पर्यटनतर्फ ३२३ र सेवामूलकतर्फ ३११ उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगको वार्षिक उत्पादन क्षमता रु एक अर्ब २६ करोड १० लाख २६ हजार ३७४ रहेको छ ।

पाँच हजारलाई रोजगारी, ६६ लाख राजश्व सङ्कलन

दुई हजार एक उद्यमी बन्दा ती उद्योगले पाँच हजार ८१५ लाई रोजगारी दिएको छ । रोजगारी पाउनेमा दुई हजार ८३५ महिला र दुई हजार ९८० पुरुष छन् ।

यसैगरी कार्यालयले ६६ लाख ३१ हजार ७५० राजश्व सङ्कलन गरेको छ । उद्योग दर्तामार्फत ३७ लाख ७७ हजार ७००, पुँजी वृद्धि मार्फत सात लाख ८० हजार ५०० र अन्यमार्फत २० लाख ७३ हजार ५५० राजश्व सङ्कलन भएको छ । एक लाखसम्म पूँजी भएको उद्योगले एक हजार १००, तीन लाखसम्म पूँजी भएको उद्योगले तीन हजार १००, रु पाँच लाखसम्म पूँजी भएको उद्योगले ६ हजार १००, ५० लाखसम्म पूँजी भएको उद्योगले १२ हजार १००, एक करोडसम्म पूँजी भएको उद्योगले २० हजार १००, पाँच करोडसम्म पूँजी भएको उद्योगले ३० हजार १०० र रु पाँच करोडभन्दा माथि पूँजी भएको उद्योगले रु ५० हजार ११० दर्ता वापत शुल्क बुझाउनुपर्छ ।

कार्यालयमा सोही अवधिमा ७२१ उद्योग नवीकरण, १३८ उद्योग नामसारी, ११ उद्योग ठाउँसारी र १२४ उद्योगले उद्देश्य थप गरेका छन् । ८५ उद्योगले लगत कट्टा, १४६ उद्योगले सुविधा सिफारिश, १८८ उद्योगले प्रतिलिपि र १४४ उद्योले पूँजी वृद्धि गरेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ श्रावण २०७८, मंगलबार  १६ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।