ब्याज आम्दानी घट्दा पनि सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा बढ्यो

0
Shares

सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा करिब १०५ प्रतिशतले नाफा बढाएको विवरण सार्वजनिक गरेको छ । बैंकको खुद ब्याज आम्दानी घटेपनि अन्य आम्दानी बढ्दा नाफा बढेको हो ।

बैंकले गत आवमा ६ करोड १९ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

 जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०४.८३ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ३ करोड २ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

नाफा बढेपनि बैंकको खुद ब्याज आम्दानी घटेको छ। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१६ प्रतिशतले घटेर २१ करोड ७२ लाख रुपैयाँमा झरेको छ।

बैंकको इपेरिमेन्ट चार्ज रिभर्स हुँदा बैंकको सञ्चालन नाफा बढेको हो । बैंकको इपेरिमेन्ट चार्ज १२३ प्रतिशतले फिर्ता भएको छ । जसको सञ्चालन नाफा ११२.३२ प्रतिशत तथा फि तथा कमिसन मार्फत हुने आम्दानी ३४.५२ प्रतिशतले बढेको छ।

नाफा बढेसँगै बैंकको वितरणयोग्य नाफा पनि १ करोड ३० लाख रुपैयाँबाट बढेर ७ करोड ४४ लाख रुपैयाँ पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६२ पैसाबाट ७ रुपैयाँ ४२ पैसा पुगेको छ ।

८३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बेंकको जगेडा कोषमा ९ करोड ८० लाख रुपैयाँ रहेको छ भने रिटेर्न अर्निङमा ७ करोड ४४ लाख रुपैयाँ रहेको छ।

बैंकले ४ अर्ब ५१ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरेर ३ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निक्षेप संकलन ३२.६१ प्रतिशत तथा कर्जा लगानी ४२.४६ प्रतिशतले बढेको हो । बैंकको खराब कर्जा पनि ३.९२ प्रतिशतबाट घटेर १.४४ प्रतिशतमा झरेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।