सरकारको दबाबमा रोकियो मौद्रिक नीति, आज पनि अर्थ समितिमा छलफल

0
Shares

नेपाल राष्ट्र बैंकले साउन २२ गते शुक्रबार वा ढिलोमा साउन २४ भित्रै चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको भएपनि सरकारको दबाबका कारण रोकिएको छ।

केपी ओली नेतृत्वको सरकारलाई प्रतिस्थापन गर्दै शेर बहादुर देउवा नेतृत्वमा बनेको नयाँ सरकारले पूर्णता नपाउँदा त्यसको असर चालु आवको मौद्रिक नीतिमा समेत परेको हो । सरकार परिवर्तन भएपछि राष्ट्र बैंकले तयारी अवस्थामा रहेको मौद्रिक नीति समेत सार्वजनिक गर्न सकेको छैन् ।

नयाँ सरकारले बजेटमा हेरफेर गर्ने बताएपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न ढिलाइ गरेको थियो । त्यसपछि अर्थ मन्त्रालयको दबाबमा मौद्रिक नीति सार्वजनिक गर्नमा ढिलाइ भएको भन्दै चर्चा चलेकोे थियो ।

अर्थमन्त्री जर्नादन शर्माको हस्तक्षेपका कारण मौद्रिक नीतिमा ढिलाई भएको बताइएको भएपनि मन्त्री शर्माले केहि दिन अघि पत्रकार सम्मेलनगरी आफुले मौद्रिक नीति नरोकेको प्रष्ट्र पारिसकेका छन् । राष्ट्र बैंक स्वायत्त निकाय भएकाले आफूले कुनै दबाब नदिएको, बरु उपयुक्त समयमा मौद्रिक नीति ल्याउन सुझाएको उनले बताएका थिए ।

‘न्यूनतम साझा कार्यक्रम’ र श्वेतपत्रको तयारीमा लागेको गठबन्धन सरकारले मौद्रिक नीतिमा ढिलाई गर्न संसदिय समितिमा प्रवेश गराएको छ । व्यवस्थापिका संसदको अर्थ समितिले साउन २० गते बुधबार मौद्रिक नीतिका सन्दर्भमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग जानकारी लिएको थियो । समितिले आज पनि मौद्रिक नीतिका बिषयमा सरोकारवालासँग छलफल गर्ने भएको छ ।

संसदिय समितिमा छलफलको क्रममा रहेकाले पनि मौद्रिक नीति आइतबारसम्म आउने सम्भावना न्यून हुँदै गएको छ । राष्ट्र बैंकले कम्तिमा साउन अन्तिम साता मात्रै मौद्रिक नीति सार्वजनिक गर्नसक्ने राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए।

अर्थसचिव मधुकुमार मरासिनीले राष्ट्र बैंकको सञ्चालकका रूपमा बुधबार मात्रै शपथ लिएका थिए । मरासिनी संचालकमा आएपछि बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले साउन अन्तिम साताभित्र मौद्रिक नीति ल्याउने अनौपचारिक निर्णय भने गरेको छ ।

संसदीय समितिमा छलफल जारी रहेको र सरकारले साझा न्यूनतम कार्यक्रम तथा श्वेतपत्र जारी गर्ने तयारी गरेकाले अर्थसचिवको आग्रहमा मौद्रिक नीति पर धकेलिएको राष्ट्र बैंक सम्बद्ध स्रोतले जानकारी दियो । यता सरकारले न्यूनतम साझा कार्यक्रम र श्वेतपत्र कहिले जारी गर्छ भन्ने अहिलेसम्म कुनै टुङ्गो लागेको छैन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।