
बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेपालकै पहिलो बिस्कुट कम्पनीका रुपमा सञ्चालित बालाजुको नेबिको प्रालीमा आज बिहान एक्कासी आगलागी भएको छ ।
आगलागीबाट उद्योगमा उत्पादित करोडौं मूल्य बराबरको सामग्री जलेर नष्ट भएको छ । नेबिको प्रालीमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान २ः०० बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र बारुणयन्त्रका कर्मचारीको अथक प्रयासपछि क्रमशः नियन्त्रणमा आएको हो । घरभित्र आगो लागेकाले पनि नियन्त्रणमा लिन कठिन भएको हो ।
वार्षिक एक अर्ब १५ करोडभन्दा बढी रकम बराबरको सामग्री बजारमा बिक्रीका लागि पठाउँदै आएको नेबिको प्राली सन्ताउन्न वर्ष पहिले स्थापना भएको थियो । उक्त कम्पनीले विभिन्न नामका बिस्कुट, कुकिज लगायतका सामग्री उत्पादन गर्दै आएको छ ।
एक अर्ब बराबरको लगानीमा सञ्चालनमा रहेको उक्त प्रालीले भर्खरै नयाँ प्लान्ट जडान गर्ने क्रममा रहेको थियो । बजारमा नयाँ ढङ्गले जान लागेका बेलामा आज बिहान एक्कासी आगलागी भएको हो ।
नेबिको प्रालीका ब्राण्ड मेनेजर अरुण पौडेलले आगो नियन्त्रणमा आइसकेपनि के कति क्षति भयो भन्नेबारे यकीन तथ्याङ्क निकाल्न बाँकी रहेको बताए । चार युनिटमार्फत काम गर्दै आएको उक्त कम्पनीले भैरहवामा समेत शाखा विस्तार गरेर काम गर्दै आएको ब्राण्ड मेनेजर पौडेल बताउँछन् ।
कम्पनीभित्र प्रज्वलनशील पदार्थ बढी रहेकाले आगलागी नियन्त्रणमा समस्या भएको महानगरीय प्रहरीवृत्त बालाजुका प्रहरी वरिष्ठ उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
“बिस्कुट उत्पादन गर्ने कम्पनीमा घ्यु, मैदा, चिनी, प्लाष्टिकजस्ता सामग्री हुँदा आगोले झन् ठूलो रुप लिन पुग्यो, त्यसैले आगो नियन्त्रणमा समस्या परेको हो”, डिएसपी बुढाथोकीले भने ।
आगलागी शुरु भएपछि बालाजु वृत्तको प्रहरी टोली बिहान २ः२० बजेदेखि नियन्त्रणमा खटिएको उनको भनाइ छ । आगलागी नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकाका नौ दमकल प्रयोग गरिएका छन् । यस्तै २५ ट्याङ्करले निरन्तर पानी ओसारपसार गरेका थिए।
काठमाडौं महानगरपालिका–१६ बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित उक्त नेबिको प्रालीमा आगलागी हुँदा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
आगो तिनतिरबाट नियन्त्रणमा लिने प्रयास गरिएको थियो । तीन सय भन्दाबढी कामदार रहेको उक्त कम्पनीमा प्रारम्भिक विद्युत् सर्ट भएर आगलागी भएको भनिए पनि के कति कारणले आगलागी भयो भन्नेबारे अहिलेसम्म थाहा भएको छैन । उक्त कम्पनी दैनिक १६ घण्टा सञ्चालन हुँदै आएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया