ट्रेडिङ्ग र अन्य आम्दानीले बढायो कृषि विकास बैंकको नाफा

0
Shares

गत आर्थिक वर्षमा कृषि विकास बैंकले कोर बैंकिङ भन्दा पनि अन्य क्षेत्रबाट हुने आम्दानीमा उच्च सुधार गरेको छ । बैंकको ब्याज आम्दानी घट्दा पनि ट्रेडिङ्ग र अन्य सञ्चालन आम्दानीमा उच्च सुधार आएपछि खुद नाफाको वृद्धिदर भने कायम रहेको हो ।

गत आर्थिक वर्षको बैंकको नाफा करिब ११ प्रतिशतले बढेको छ । सो अवधिमा बैंकको खुद ब्याज आम्दानी करिब ७ प्रतिशतले घटेर ६ अर्ब २६ करोडमा सिमित भएको छ । तर, बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा ट्रेडिङ्ग इनकम २ गुणा भन्दा धेरै र अन्य सञ्चालन आम्दानी १४ गुणासम्मले बढाएको छ।

गत आवमा बैंकको आधार ब्याजदर र स्प्रेड घटेपछि ब्याज आम्दानीमा असर गरेको हो । गत आवमा बैंकको ब्याजदर अन्तर ४.३७ प्रतिशत रहेको छ । त्यसैगरी आधार ब्याजदर ७.१३ प्रतिशत रहेको छ । गत आवमा बैंकको कष्ट अफ फण्डपनि ४.७ प्रतिशतमा सिमित भएको छ ।

अघिल्लो आवमा बैंकको ब्याजदर अन्तर ४.४४ प्रतिशत, आधार ब्याजदर ९.२६ प्रतिशत र कष्ट अफ फण्ड ६.४ प्रतिशत रहेको थियो ।

गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ खुद नाफा गेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.८९ प्रतिशत धेरै हो । गत आवमा बैंकको सञ्चित कोष १२.९३ प्रतिशत बढेको छ भने निक्षेप १३.२६ प्रतिशत र कर्जा २५.४५ प्रतिशत बढेको छ ।

बैंकको नाफा वृद्धिलाई कायम राख्न प्रमूख भुमिका खेलेको ट्रेडिङ तथा अन्य सञ्चालन आम्दानी आएको सुधार अस्वभाविक नै देखिन्छ । बैंकले गत आर्थिक वर्षमा ट्रेडिङ्ग मार्फत ९५ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा बैंकले सो शिर्षकमा ३९ करोड २१ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो।

त्यसैगरी बैंकले गत आवमा अन्य सञ्चालन आम्दानीबाट ५० करोड २९ लाख रुपैयाँ कमाएको छ । अघिल्लो आवमा बैंकले सो शिर्षकमा ३ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७३ करोड ५० लाख रुपैयाँ रहेको छ । खुद नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा प्रतिशेयर आम्दानी ८० पैसाले घटेर ३०.६५ रुपैयाँमा झरेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।